News

May 7, 2010

कसावलाई विशेष अदालतले मृत्युदण्डको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई/ भारतको मुम्बईमा २००८ मा भएको हमलाका दोषीमध्येका एक मात्र जीवित अजमल अमिल कसावलाई विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । सोमबार नै अदालतले कसावलाई ८६ आरोपका लागि दोषी भएको ठहर गरेको थियो । २२ वर्षे पाकिस्तानी नागरिक कसावलाई हत्या, भारतविरुद्ध युद्ध छेडेको आदि अभियोगका लागि दोषी ठहर गरिएको थियो । कसावविरुद्ध बिहीबार सजाय सुनाउँदै न्यायाधीशले भने, 'उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइनेछ ।' अदालतको फैसलाविरुद्ध कसावले अपिल गर्न पाउनेछन् । कसावलाई पुनस्र्थापना गर्ने कुनै अवस्था नै नरहेको र उनले मानवीय व्यवहारको अधिकार गुमाएकाले मृत्युदण्डको सजाय तोकिएको न्यायाधीश एमएल ताहालियानीले फैसलामा सुनाए ।२६ नोभेम्बर २००८ मा मुम्बईको दुई होटल, छत्रपति शिवाजी रेल्वे स्टेसन तथा अन्य स्थानमा भएका हमलामा एक सय ७४ जनाको मृत्यु भएको थियो । हमलायता भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनाबग्रस्त भएको छ । पाकिस्तानस्थित लडाकु संगठन लस्कर-ए-तोइवाले आक्रमण गरेको आरोप भारतले लगाउँदै आएको छ । सुरुमा त पाकिस्तानले आफ्नो भूमिमा हमलाको योजना बनाइएको इन्कार गरेको थियो । तर, पछि हमलाको केही अंश आफ्नो भूमिमा बनाइएको पाकिस्तानले स्वीकार गरेको छ ।

No comments: