लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वास्थ्य र यौन शिक्षाका बारेमा यौनसँग गाँसिएका पाठ पढाउन शिक्षक पनि सङ्कोच मान्ने गर्छन् । अहिले त शिक्षकले यी विषयमा पढाउँदा विद्यार्थीहरु मज्जाले ध्यान दिन थालेका छन् । खासगरी छात्राहरुमा स्वास्थ्य विषयको पढाइ साथीहरुमाझ अप्ठयारो बनाउने विषय बन्दै आएको थियो, अहिले त्यस्तो कुरा नै हुँदैन । गएका वर्षहरुमा भन्दा यौनका कुरा समाज, विद्यालय र साथीसङ्गीबीच खुल्दै आएको विद्यार्थीहरु बताउँछन् ।अहिले यौनका विषयमा विद्यार्थीहरु साथी शिक्षाको माध्यमबाट धेरै कुरा बुझ्नसक्ने भएका छन् । पहिले-पहिले परिवार नियोजनको अस्थायी साधन कण्डमको विज्ञापन रेडियोबाट आउँदा रेडियो बन्द गर्ने परम्परागत सोच पनि फेरिँदै आएको छ । अहिले परिवारका धेरै सदस्यले यौनलाई आफ्नो शारीरिक तन्दुरुस्तीसँग गाँसेर बुझ्न थालेका छन् ।ढाकछोप गरिएको विषयमा धेरैलाई जिज्ञासा हुन्छ जसले विकृतिको जन्म गराउँछ । यही निक्र्यौल निकालेको परिवार नियोजन सङ्घ, इलामले अहिले इलामका विद्यालयहरुमा विद्यालयको समन्वयमा यौनका कुरा साथीसँग गर्नका लागि शुक्रबारे कक्षा सञ्चालन गरेको छ ।सङ्घले अहिले जिल्लाका तीन विद्यालयका विद्यार्थीहरुलाई साथी शिक्षामार्फत हरेक शुक्रबारे यौनका बारेमा छलफल गराउन थालेको छ ।सङ्घले यौन र प्रजनन स्वास्थ्यका बारेमा विद्यालयका किशोर-किशोरीबीच खुला छलफल गराउन पहिलो चरणमा इलामको बरबोटेस्थित अमर उच्चमाध्यमिक विद्यालय, मङ्गलबारेको भानुभक्त उच्चमावि र फिक्कलको फिक्कल माविलाई छनोट गरेको छ ।अहिले ती विद्यालयहरुले हरेक शुक्रबार प्रतिकक्षा एक घन्टा यौन र प्रजनन स्वास्थ्यका बारेमा विद्यार्थीहरुमाझ छलफल गराउने गरेका छन् । यौन र प्रजनन स्वास्थ्यका विषयलाई प्रभावकारी माध्यमबाट विद्यार्थीलाई बुझाउन छलफल विधि पनि छुट्टै खालको छ ।‘कक्षाकोठाको भित्तामा सात रङ्गको कपडा टाँसिन्छ । पहिले नै समूहमा बाँडिएका विद्यार्थीमध्येका समूह नाइकेले हातमा थमाइएको बलले सात रङ्गमध्येको एक रङ्गकोे कपडालाई निशाना बनाई हिर्काउँछन् ।विद्यार्थीको निशाना जुन रङ्गको कपडामा लाग्छ सोही रङ्गको कार्डमा लेखिएको प्रश्न सहजकर्ताले त्यस समूहलाई सोध्छन् । यौन र प्रजनन स्वास्थ्यसम्बन्धी त्यस प्रश्नका बारेमा समूहभित्र छलफल हुन्छ । त्यसपछि जिज्ञासाको समाधान गरिन्छ, सहजकर्ता सुदीप श्रेष्ठले बताउनुभयो ।सहभागी विद्यार्थीको उत्तर अपूरो भएमा नेपाल परिवार नियोजन सङ्घअन्तर्गतका युथ फोरमका युवा स्वयम्सेवकले सहजीकरण गरी दिन्छन् । शुक्रबारे कक्षामा किशोरावस्था परिवर्तनका सङ्केतहरु, सुरक्षित यौनसम्पर्क र यौन शोषणजस्ता विषयमा छलफल हुने गरेकोे छ ।नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक कुमार गिरी यौन र प्रजननसम्बन्धी ज्ञानको अभावमा सिर्जना हुने विकृति र समस्या कम गर्न विद्यालयमा शुक्रबारे कक्षा सुरु गरिएको बताउनुहुन्छ ।उहाँका अनुसार ‘विद्यालयको पाठयक्रममा राखिएका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाठहरु पर्याप्त छैनन्, फेरि पढ्न र पढाउन शिक्षक-विद्यार्थी दुवैले अप्ठयारो मान्छन् ।त्यसैले सङ्घका स्वयम्सेवकहरुमार्फत कक्षा आठ, नौ र १० मा यो अभियान थालेका हौं । अहिले शुक्रबारे कक्षाको प्रभावकारिता बढ्न थालेकोले सङ्घले यसलाई अन्य विद्यालयमा पनि विस्तार गर्ने सोच बनाएको छ ।
No comments:
Post a Comment