News

Sep 11, 2012

ब्ल्याकमेलिङ गर्दै शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भरतपुर, भाद्र २६ - पश्चिम माडीको जगन्नाथपुरी निमाविका एक शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहार गर्दै आएको खुलासा भएको छ । शिक्षकहरू देवराज साँछी र शिव आचार्यले छात्राहरूलाई कक्षा कोठाबाट 'बुवाले बोलाउनुभएको छ' भन्दै पुस्तकालयमा लगी आफूले भनेको नमाने परीक्षामा फेल गराउने धम्की दिँदै यौन कार्य गर्दै आएको पाइएको हो । उनीहरूले बारम्बार कक्षा ७ र ८ का छात्रालाई विद्यालय समयमा जबर्जस्ती गरी आत्महत्या गर्ने स्थितिसम्म पुर्‍याएको पीडित छात्राहरूले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । दुवै शिक्षकले १२ वर्षीया माडी 'क' र १४ वर्षीया माडि 'ख' (नाम परिवर्तन) लाई यौन दुव्र्यवहार गरेपछि परिवारको सल्लाहमा प्रहरीमा उजुरी गरेका हुन् । उजुरीका आधारमा प्रहरीले दुवै शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । 'शिक्षक आचार्यले कक्षामा पढाइरहेको समयमा बाहिर बुवाले बोलाउनुभएको छ भन्दै बाहिर जान भन्ने र बाहिर रहेका शिक्षक साँछीले हातमा समाएर पुस्तकालयमा लगी जबर्जस्ती गर्थे,' उजुरीमा भनिएको छ । भनेको माने पास गराइदिने र आफ्नो बारेमा कसैलाई भने फेल गराउने भन्दै मानसिक पीडा दिँदै यौन दुव्र्यवहार गर्दै आएको उनीहरूले उल्लेख गरेका छन् । दुवै छात्राले अरूलाई भन्न डर लागेर पीडा सहन नसक्दा विष सेवन गरी आत्महत्याको प्रयास गरेका र पछि अभिभावकलाई जानकारी गराएपछि प्रहरीमा उजुरी गरेका हुन् । दुवै छात्राले भागेर बच्न सफल भएको बताएका छन् । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश पौडेलले भने आफूलाई घटनाबारे जानकारी नभएको बताए । 'म बिरामी बिदामा छु, मलाई केही थाहा छैन,' पौडेलले भने । प्रहरीले शिक्षक र पीडित परिवारसँग बयान लिइरहेको छ । माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले मुलुकी ऐनको जबर्जस्तीकरणी महल अन्तर्गत मुद्दा दर्ता भएकाले आफूहरूले अपराधीलाई उम्कन नदिने बताए । 'अहिले हामीले पीडितलाई हरेस खान नदिई हौसला प्रदान गर्ने कार्य गरेका छौं,' उनले भने, 'अपराधी उम्कन नदिन पनि दबाब दिनेछौं ।' छात्रामाथि यौन दुर्व्यवहार गर्दै आएका शिक्षकलाई स्थानीयले सोमबार कुटपिट गरी प्रहरीलाई बुझाएका छन् । साँछी राहत कोटाका शिक्षक हुन् भने आचार्य निजी स्रोतबाट राखिएका हुन् । विद्यालय व्यस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय पार्टी प्रतिनिधि लगायतको उपस्थितिमा भएको भेलाले निजी स्रोतका शिक्षक आचार्यलाई तत्काल निष्कासन गर्ने निर्णय गरेको छ ।

No comments: