News

Sep 24, 2012

मनास्लुको हिमपहिरोमा परी कम्तीमा ११ आरोहीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन ८ - मनास्लुमा गएको हिमपहिरोमा परी कम्तीमा ११ आरोहीको आइतबार बिहान मृत्यु भएको छ । हिमपहिरोले बगाउँदा केही हराइरहेका छन् भने १८ घाइते छन् । आरोहणका लागि निकै कठिन मानिने ८ हजार १ सय ५६ मिटर अग्लो हिमालको चुचुरो पुग्न अन्तिम तयारी गरिरहेका बेला बिहान ५ बजे उनीहरू हिमपहिरोमा परेका हुन् । घटनामा अधिकांश युरोपेली र केही नेपाली परेका छन् । घाइते १४ जनाको आधार शिविरमा उपचार भइरहेको छ भने काठमाडौं ल्याइएका सिकिस्त पाँच जनामध्ये एकको उपचार क्रममा मृत्यु भएको छ । 'एक जर्मन आरोहीको नर्भिक अस्पतालमा उपचार गर्दागर्दै साँझ निधन भएको छ,' नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कान्तिपुरसँग भने, 'साँझसम्म आधार शिविरमा सम्पर्क गर्दा ८ जनाको शव भेटिएको जानकारी आएको छ ।' मृत्यु हुने अन्य दुईको शव दिउँसै काठमाडांै ल्याइएको थियो । मृत्यु भएकाहरूमध्ये नेपाली दावा दोर्जी शेर्पा, जर्मन नागरिक क्रिस्टियन मितरमेयर र स्पेनका माटीरोइग ग्यासलको शवको मात्र पहिचान हुन सकेको पर्यटन मन्त्रालयले जनाएको छ ।

No comments: