News

Sep 17, 2012

एमाओवादीमा भ्रष्टाचारका ६५ उजुरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज १,एकीकृत नेकपा माओवादीको पार्टीभित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक एवम् स्थायी समिति सदस्य अमिक शेरचनले आगामी असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर कसले कति भ्रष्टाचार गर्‍यो भन्ने विषयको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भइरहेको खुलासा गरेका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले असोज ३ गतेसम्म परेका उजुरीको छानविन सकिने जानकारी दिँदै त्यसको विश्लेषण गरेर असोज १० गते भित्र सार्वजनिक गर्ने जानकारी दिए। उनले भने- 'पार्टीभित्र भ्रष्टाचार भएको छ। म आयोगको संयोजक भएको नाताले अहिले सबैकुरा भन्न मिल्दैन। असोज १० गतेभित्र सबै सार्वजनिक हुन्छ।' शेरचनले जम्मा ६५ वटा उजुरी परेकोमा २० वटा सुझाव मात्रै भएको भन्दै तल्लो र माथिल्लो तहका नेताहरुविरुद्ध बराबरी उजुरी परेको जानकारी दिए। एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष प्रचण्ड भ्रष्टाचारी भएकोले जेल हाल्नु पर्ने भनि दिएको अभिब्यक्तिप्रति लक्षित गर्दै उनले भने- 'माधवजीसँग प्रमाण भए अख्तियारमा उजुरी गरे भइहाल्छ। किन बाहिर भनिरहनु।' पार्टी विभाजनपछि सम्पत्ति बाँडफाँडमा उत्पन्न विवादका विषयमा ३० प्रतिशत केन्द्रीय सदस्य रहेकाले त्यति नै सम्पत्ति दिने प्रस्तावमा छलफल भइरहे पनि कुरा मिल्न नसकेको उल्लेख गर्दै ४० र ६० को अनुपातमा सम्पत्ति बाडफाडको विवाद मिल्ने विश्वास ब्यक्त गरे। उनले भने- 'उहाँहरुको समेत मेहनतमा सम्पत्ति जोडिएको हो त्यसैले उहाँहरुले पनि भाग पाउनु न्यायोचित हुन्छ। उहाँहरुले पाउनै पर्छ।' राजनीतिक गरिरोधको अन्त्यका लागि संविधान सभाको पुनःस्थापनाको विकल्प नभएको उल्लेख गर्दै शेरचनले सहमतिमा संविधान जारी गर्न वा नयाँ निर्वाचनमा जानका लागि पनि संविधानसभाको पुनःस्थापनाबाहेक अर्को बाटो नभएको बताए। उनले विगतमा पनि संसद पुनःस्थापनाको राजनीति नजिर कायम रहेकोले अहिले पनि दलहरुले पार्टीगत स्वार्थबाट पछि हडे सहमति बन्ने विश्वास ब्यक्त गर्दै दलहरुलाई सहमतिको विकल्प नखोज्न आग्रह गरे।

No comments: