News

Sep 22, 2012

कांग्रेसको नेतृत्वमा सरकार बने माओवादी चुनावमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ असोज,एकीकृत नेकपा माओवादीले नेपाली कांग्रेस नेतृत्वको चुनावी सरकार गठन गरेर चुनावमा जान नसकिने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्न नसकिने बताउनु भयो । राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसको हुँदा शक्ति सन्तुलन विग्रने भन्दै उहाँले भन्नुभयो-’राष्ट्रपति पनि कांग्रेसकै प्रधानमन्त्री पनि कांग्रेसकै । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद एउटै दलमा जाँदा शक्ति सन्तुलन कसरी हुन्छ ?’ प्रवक्ता सापकोटाले घुराउरो शैलीमा कांग्रेस नेतृत्वको सरकार गठन भए निर्वाचनमा नजान सक्ने संकेत गर्नुभयो । प्रमुख तीन दल र मधेसी मोर्चाबीच हालै मात्र संविधानसभाको अर्को निर्वाचन गर्ने सहमति भइसकेको छ । तर, कांग्रेस र एमालेले चुनावका लागि कांग्रेसको नेतृत्वमा सरकार गठन हुनु पर्ने बताउँदै आएका छन् । माओवादी प्रवक्ता सापकोटाले शिविरमै नभएको लडाकू देखाएर माओवादीले ४ अर्ब भ्रष्टाचार भएको भन्दै युवा संघले अख्तियारमा दिएको उुजरी माओवादीलाई बदनाम गराउने प्रयास मात्र भएको बताउनु भयो । उहाँले भ्रष्टाचार भएको भए प्रमाण देखाउन चुनौती समेत दिनुभयो । दलहरुबीच सजिलै सहमति हुन संकेत नदेखिएको भन्दै उहाँले त्यसका लागि जनताले धक्का दिनु पर्ने बताउनु भयो । माओवादी प्रवक्ता सापकोटाले लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले गर्ने लागको प्रदर्शन सहमतिका लागि दबाव दिन भएको समेत बताउनु भयो ।

No comments: