News

Sep 7, 2012

वेरुतमा दुई नेपाली महिलाद्वारा आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेरुत (लेवनान), भाद्र २२ - लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली महिलाले आत्महत्या गरेका छन् । घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलान्चोक पनौती ९ की रेनुका जर्घामगरले घरभेटीले दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् । ४४९४४५२ राहदानी भएकी राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए । २ वर्ष अघिदेखि यहाँ कार्यरत यी दुई महिलाको मृत्यु रहस्यमय भएको छ, उनले भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइएको छ । मगरको शव बुधबार नेपाल पठाइसकेको छ भने राईको शव अहिलेसम्म पठाउन सकिएको छैन, उनले भने । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने दुई घर धनीलाई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले माग गरेका छन् । मानसिक, शारीरिक र यौनशोषण तथा दुर्व्यवहारका कारण नेपाली महिला आत्महत्या गर्न बाध्य भएको बताइएको छ । उप्रेतीका अनुसार महिनामा १० भन्दा बढी यौनदुर्व्यवहारका निवेदन संस्थामा पर्ने गरेका छन् । ती मध्ये पीडा सहन नसकेर महिनामा २ जनाको मृत्युसमेत हुने गरेको छ । वेरुतमा ८ हजार ३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । वैधानिक, अवैधानिक दुवै तरिकाबाट यहाँ आएका छन् । अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउँछन् । मासिक तलब पनि उनीहरूले भनेका बेला पाउँदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउँदैनन् ।

No comments: