News

Nov 11, 2008

संसदीय व्यवस्थामाथि प्रचण्डको फेरि प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसदीय व्यवस्था मन्त्रालयको नाम परिवर्तन गरेपछि संसद्मा आलोचना खेप्दै आएको सरकार र त्यसका प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सोमबारबाट राजधानीमा शुरू भएको तीनदिने एक अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा परम्परागत संसदीय व्यवस्थाले अग्रगामी फड्को मार्न नसकिने बताउनुभएको छ। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरू एलडीसी वाच, र्सार्प, केडीएफ र ऐरेनाको आयोजनामा सोमबारदेखि काठमाडौंमा प्रारम्भ भएको लोकतन्त्र, विकास र शान्ति’ विषयक तीनदिने एसियाली सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत ढाँचा त्याग्दै अग्रगामी सोचको विकासविना जनताको मुक्ति सम्भव छैन भन्नुभयो।राजनीतिक परिवर्तन हुँदै अगाडि बढिरहेका बेला नेपालमा प्रारम्भ भएको एसियाली सम्मेलन आफैमा महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई संस्थागत गर्ने र सहमतिका आधारमा संविधान निर्माण गर्ने नेपालको उद्देश्य र लक्ष्य रहेको स्पष्ट पार्नुभयो।एलडीसी वाचका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहनुभएका मानवअधिकारवादी डा. अर्जुन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का पूर्वमहासचिव माधवकुमार नेपालले आफनो पार्टी मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्न चाहन्छ भन्दै जनताको बहुदलीय जनवादकै सिद्धान्तका आधारमा लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिने उल्लेख गर्नुभयो।उहाँले नेपाललाई मोडेल लोकतान्त्रिक मुलुकका रूपमा स्थापित गर्ने नेपाली जनताको चाहना रहेको समेत बताउनुभयो।राजनीति र अर्थशास्त्रका अन्तर्राष्ट्रिय विज्ञका रूपमा परिचित प्रा. समीर अमिनले तथाकथित संसदीय राजनीतिक प्रणालीको माध्यमबाट गरिब जनताले मुक्ति नपाउने उल्लेख गर्नुभयो। उहाँले पुँजीवादको विकासले गरिब जनतालाई फाइदा भएको छैन र हुनेवाला पनि छैन भन्दै अहिलेको आर्थिक संकट पुँजीवादको संकटको परिणाम हो भन्नुभयो।

No comments: