News

Nov 11, 2008

संघीय राज्य नचाहनेहरुद्वारा विरोध हुदैछ - मन्त्री किराती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संस्कृति तथा राज्य पुनःसंरचना मन्त्री गोपाल किरातीले ८ सय जिल्लासहितको राज्य पुनःसंरचनाको प्रस्तावको संघीय राज्य नचाहनेहरुले विरोध गरिरहेको बताउनुभएको छ ।सो प्रस्ताव वैज्ञानिक भएको दावी गर्दै उहाँले सोहीअनुरूपको राज्य पुनःसंरचनाको प्रस्ताव ८/१० दिनभित्रै सरकारले सार्वजानिक गर्ने पनि उल्लेख गर्नुभयो ।आइतबार धरानमा गणतन्त्र एफएमले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले अहिले भएका ३ देखि १५ गाविसलाई मिलाएर एक जिल्ला बनाइने जानकारी दिनुभयो । सरकारले हरेक जिल्लामा अस्पताल, विश्वविद्यालय, उद्योगलगायतका भौतिक संरचना निर्माण गर्ने पनि किरातीले उल्लेख गर्नुभयो । संघीय राज्य नचाहनेहरूले आफूले प्रस्ताव गरेको ८ सय जिल्लासहितको पुनःसंरचना प्रस्तावविरुद्ध आवाज उठाएको आरोप लगाउँदै मन्त्री किरातीले भन्नुभयो, 'यो प्रस्ताव पारित नभए म देशैभरि उनीहरूलाई विफल बनाउन भाषण गर्छु आफ्नो भाषण अभियानपछि जनताले ८ सय जिल्लाको प्रस्ताव स्वीकार गर्ने उहाँले ठोकुवा गर्नुभयो । गणतन्त्र एफएमका संस्थापकसमेत रहनुभएका किरातीलाई एफएमले सो अवसरमा सम्मान गरेको थियो । यसैगरी आइतबार नै विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री किरातीले सशस्त्र समूहहरूसँगको वार्ताको माध्यमबाट उनीहरुका मागको समाधान गर्दै उनीहरूसँग भएका सेना राज्यले एकीकरण गर्नुपर्ने बताउनुभएको विराटनगर समाचारदाताले जनाएका छन् । मधेश र पहाडमा रहेका विभिन्न सशस्त्र समूहहरूसँग सेना र हतियार छन् भने समायोजन वा अन्य विधिबाट एकीकरण गर्ने विषयमा छलफल हुनुपर्ने उहाँले बताउनुभयो । सरकारले एक मधेश प्रदेशको सम्झौता नगरेको प्रष्ट पार्दै मन्त्री किरातीले स्वायत्त मधेश प्रदेशको सहमति भएकोले एक मधेशको मुद्दा चर्किए त्यसका लागि जनमत सङ्ग्रहबाट समस्या समाधान गर्न सकिने पनि बताउनुभएको छ । मन्त्री किराती तीनदिने पूर्वी नेपालको भ्रमणका लागि आउनुभएको हो ।

No comments: