News

Nov 10, 2008

आक्रोशितले अदालतभित्रै चक्कु प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्जस्थित पुनरावेदन अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेपछि आक्रोशितले अदालतभित्रै चक्कु प्रहार गरेका छन् । दैलेख घर भई कारकादोमा बस्दैआएका भुवनसिंह थापाले नेपालगन्ज-७ फुल्टेक्राका विपक्षी दीपकशमशेर राणामाथि आइतबार चक्कु हानेका हुन् । चक्कु प्रहारबाट राणाको बाया पेटमा सामान्य चोट लागेको छ । थापालाई प्रहरीले पक्राउ गरेको छ । राणाले आफ्ना छोराछोरीलाई बन्धक बनाएर राखेको आरोप लगाउदै मुक्त गराउन थापाले तिहारअघि रिट दायर गरेका थिए । आइतबारको सुनुवाइमा २२ वर्षीया रूपा (मनकुमारी) ले बन्धक नबनाइएको र बुबासँग जान अनिच्छुक रहेको बताएपछि अदालतले रिट खारेज गरेको हो । 'म बन्धक छैन । भाइ काम गर्न इन्डिया गएको छ,' रूपाले अदालत परिसरमा भनिन् । उनका दिदीभाइलाई राणाले घरेलु कामदारका रूपमा राखेका छन् । न्यायाधीशद्वय देवन्द्रगोपाल श्रेष्ठ र फणीन्द्रदत्त शर्माको संयुक्त इजालसले रिट खारेज गरेलगत्तै मुद्दा फाटमै थापाले राणामाथि चक्कु प्रहार गरेका थिए । 'मैले न्याय पाइन । मेरै छोरी मैले नपाउने -' आक्रोशित थापाले भने । उनले चक्कु लुकाएर अदालतभित्र लगेका थिए । फैसलापछि न्यायालयभित्रै विपक्षीमाथि आक्रमण भएको घटनाले न्यायाधीश, कानुनव्यवसायी, मुद्दाका पक्षीविपक्षी र सरोकारवालाको सुरक्षाप्रति गम्भीर प्रश्न उठेको नेपाल बार एसोसिएसनले बताएको छ । एसोसिएसनले घटनाको भर्त्सना गरेको छ । केन्द्रीय उपाध्यक्ष प्रह्लाद कार्की, पुनरावेदन अध्यक्ष लोकबहादुर शाह र जिल्ला अदालत इकाइ अध्यक्षर् इश्वरी ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतभित्र सुरक्षाको व्यवस्था मिलाउन प्रशासन र सरकारसँग माग गरेका छन् ।

No comments: