News

Nov 9, 2008

सेना समायोजनको विवाद देखाएर संविधान लेख्ने काम ओझेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजनको विवाद देखाएर संविधान लेख्ने काम ओझेलमा पार्न खोजेको आरोप लगाउनुभएको छ ।जनआन्दोलनका कमान्डर गणेशमान सिंहको ९४ औँ जन्मजयन्तीका अवसरमा बिपी सङ्ग्रहालयले आइतबार आयोजना गरेको गणेशमानको सालिक अनावरण कार्यक्रममा कोइरालाले समयमा संविधान बनाउन नसके माओवादीको भविष्य समाप्त हुने चेतावनी दिनुभयो । बिपी सङ्ग्रहालयलाई पाँचवटै विकास क्षेत्र र जिल्लाजिल्लामा विस्तार गर्न आफूले देशव्यापी दौडाहा सुरु गर्न लागेको कोइरालाले जानकारी दिनुभयो । पार्टीका कार्यकर्तालाई एकता गराएर पुरानै अवस्थामा पुर्‍याएपछि राष्ट्रियताका लागि अन्य दललाई पनि एकताबद्ध बनाउँछु -कोइरालाले भन्नुभयो । विराटनगरमा खुलेको बिपी इन्ष्टीच्युटलाई पनि सङ्ग्रहालयकै मातहतमा ल्याएर अध्ययन एवं अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोच बनाइएको पनि कोइरालाले सभामा सार्वजनिक गर्नुभयो । केन्द्रले लोकतन्त्र र लोकतन्त्रका लागि लड्नेहरुका विषयमा अनुसन्धान गर्नेछ, त्यसपछि काङ्ग्रेसलाई कसैले सिध्याउन सक्दैन - कोइरालाले भन्नुभयो । गणेशमानपुत्र एवं नेपाली काङ्ग्रेस उपसभापति प्रकाशमान सिँहले सङ्ग्रहालयले भावी पुस्तालाई सहमतिको राजनीतिक शिक्षा दिने विचार व्यक्त गर्नुभयो ।

No comments: