News

Nov 9, 2008

कांग्रेसद्वारा प्रधानमन्त्रीसमक्ष नौबुँदे माग प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष नेपाली काङ्ग्रेस संसदीय दलले शान्ति प्रक्रिया र बजेटसम्बन्धी नौं बुँदे माग प्रस्तुत गरेको छ । संसदीय दलले १२ बुँदे सहमतिलगायतका विभिन्न समयमा भएका सहमति र सम्झौताअनुरूप नेकपा माओवादीद्वारा कब्जा गरिएका घरजग्गा र सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गरी कब्जा गरिएको अवधिको क्षतिपूर्ति एवम् राहत प्याकेजको व्यवस्था गर्नसमेत माग गरेको हो ।कांग्रेसले वाइस्एलको अर्धसैनिक कार्यश्ली पूर्णरूपमा समाप्त गरी नियन्त्रण गरिएका सार्वजनिक, सरकारी एवम् निजी भवन तथा जग्गा १५ दिनभित्र सम्बद्ध पक्षलाई हस्तान्तरण गरिने प्रतिवद्धता कार्यान्वयन गर्न माग गरेको छ ।राजनीतिक दलका नेताका लागि नेपाल सरकारले व्यवस्था गर्नेबाहेक अलग सुरक्षा संयन्त्र नराख्ने सहमतिसम्बन्धी कार्यान्वयनका विषयमा गृहमन्त्रीबाट जानकारी आउनुपर्ने, शिविरमा रहेका लडाकूहरूको भविष्य तथा उनीहरूप्रति मुलुकको आर्थिक दायित्वको विषयमा सेना समायोजनसम्बन्धी गठित विशेष समिति वा व्यवस्थापिका संसदको निर्णयबाट हुनुपर्ने र कार्यान्वयन प्रक्रियामा अघि बढेका विषयलाई तत्काल रोक्नुपर्ने, अघिल्लो सरकारले सहमतिका आधारमा निर्माण गरेको स्थानीय शान्ति समितिको कार्य सम्पादन ढाँचा अवलम्बन गर्ने र शान्ति प्रक्रियास्म्बन्धी कुनै पनि निर्णय दलीय सहमतिका आधारमा मात्र हुनुपर्ने माग संसदीय दलले गरेको छ ।स्थानीय विकास तथा भौतिक योजना तथा निर्माण मन्त्रालयसम्बन्धी अघिल्ला वर्षदेखि सञ्चालित योजनाका सन्दर्भमा गत वर्ष विनियोजित रकमभन्दा नघटाउन, संसदीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन र शान्ति तथा पुननिर्माण मन्त्रालयअन्तर्गतको रू. नौ अर्ब चार करोड तथा एक अर्ब चार करोडको साक्षरता अभियान, रू. ५० करोडको युवा स्वरोजगार कार्यक्रम, रू. एक अर्ब ७५ करोडको स्थानीय विकास पूर्वाधार कार्यक्रम र रू. ४८ करोडको सहकारी विकास कोषजस्ता राजनीतिक प्रकृतिका कार्यक्रम दलहरूको सहमतिमा संसदीय संयन्त्र निर्माण गरी निष्पक्ष एवम् स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने पनि मागपत्रमा उल्ल्ख छ ।काङ्ग्रेस संसदीय दलले यस वर्षको बजेट पारित हुनुअघि नै प्रस्तुत माग कार्यान्वयन हुनुपर्ने माग पनि गरेको छ । नेपाली काङ्ग्रेसका वरिष्ट उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नेता डा.रामशरण महत र संसदीय दलका सचेतक लक्ष्मण घिमिरको सहभागिता थियो ।

No comments: