News

Dec 6, 2008

चिनियाँ सैन्य टोली शनिबार काठमाण्डूमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिनियाँ सेनाका उपप्रमुखको नेतृत्वमा एक उच्चस्तरीय सैन्य टोली शनिबार काठमाण्डू आइपुगेको छ।
चिनियाँ विदेशमन्त्री याङ् चेईछिले नेपालको सुरक्षा क्षेत्रमा सहयोग गर्ने वचन दिएर फर्किएको दुई दिनपछि सो टोली काठमाण्डू आएको हो। केही साता यता लगातार विदेशी सैन्य अधिकारीहरुद्वारा भइरहेको नेपाल भ्रमणको पछिल्लो चरणमा चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मा सियाओसियान शनिबार बिहान काठमाण्डू आइपुगेका थिए। संयुक्त अधिराज्यका सेनापति जनरल रिचार्ड डनाट र त्यसअघि अमेरिकी रक्षा अधिकारीले नेपाल भ्रमण गरेको केही साता भित्रै चिनियाँ अधिकारी नेपाल आएका हुन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले यसलाई नियमित भ्रमणको संज्ञा दिए।
"यो नियमित भ्रमण हो। त्यस्तो विशेष एजेण्डा छैन,"क्षेत्रीले भने। गत साता नेपाल आएका चिनियाँ विदेश मन्त्रीले नेपालको सुरक्षा मजबूत पार्न सहयोग गर्न सकिने वताएका थिए। त्यस्तै केही साता अगाडि रक्षा मन्त्री राम बहादुर थापा बादलको चीन भ्रमणको बेला चीनले दश करोड रुपियाँ बराबर सुरक्षा सहयोग दिने सहमति जनाएको समाचारहरु आएका थिए। यसै पृष्ठभूमिमा चारदिने भ्रमणमा आएको चिनियाँ टोलीले सुरक्षा सहयोग दिने सम्झौता गर्न सक्ने बताइएको छ। तर प्रवक्ता क्षेत्रीले त्यसबारे आफुलाई जानकारी नभएको वताए। सरकारको नेतृत्व गर्ने दल नेकपा माओवादीको सेनालाई सरकारी सुरक्षा अंगमा समायोजन गर्ने विषयमा विवाद भइरहेको बेला भएको यो पछिल्लो भ्रमणलाई धेरैले चासोका साथ हेरेका छन्।

No comments: