News

Dec 8, 2008

माओवादीले कब्जा गरेका सम्पत्ति फिर्ता नहुने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी)ले कब्जा गरेको घरजग्गा फिर्ता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कबुलेको समयसीमा सकिन एक हप्तामात्र बाँकी रहेको बेला उनकै पार्टीका एकजना वरिष्ठ नेताले त्यो असम्भव भएको वताएका छन्। नेता सीपी गजुरेलले कब्जा गरिएको घरजग्गामा बसोबास गरिरहेका मानिसहरुलाई अन्यत्र पुनर्स्थापना नगरिकन ती फिर्ता नहुने जानकारी दिएका छन्। एक महिना अगाडि संविधानसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले कब्जा सम्पत्ति मंसिरभित्र फिर्ता दिने घोषणा गरेका थिए। आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पारित हुनु अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कब्जा गरिएका सम्पत्ति फिर्ता लगायतका नौ बुँदे माग पूरा गर्ने वचन प्रधानमन्त्रीले दिएका थिए। तर उनले दिएको वचन पूरा नहुने स्पष्ट संकेत उनकै पार्टिका वरिष्ठ नेताहरुले दिएका छन्। नेता सीपी गजुरेलले त्यो समयसीमा व्यावहारिक नभएको र त्यसभित्र त्यस्ता घरजग्गा फिर्ता हुन नसक्ने वताएका छन्। कब्जा गरिएका घरजग्गाहरु फिर्ता गर्न भईरहेको आनाकानीको कारण प्रष्ट्याउँदै गजुरेलले भने, "हामीले त त्यस्ता सम्पत्ति किसानहरुलाई वितरण गरेका छौं। अब ति किसानहरुको वैकल्पिक व्यवस्था सरकारले नगरेसम्म उनीहरुलाई हटाउन मिल्दैन।" प्रधानमन्त्री प्रचण्डले एक महिना अगाडि दिएको वचनलाई नेपाली कांग्रेसले स्वागत गरेको थियो। त्यो बेला सरकारी आश्वासनको प्रशंशा गरेका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अहिले निराश भएका छन्। पौडेलले भने, "उनीहरुको बोलीको ठेगान भएन। कब्जा सम्पत्ति फिर्ता गर्ने सुरसारै छैन। उनीहरुको नियत नै ठिक छैन।" आफ्नो पार्टीका कतिपय वरिष्ठ नेताहरुको घरजग्गा समेत फिर्ता नभएको आरोप नेपाली कांग्रेसले लगाउँदै आएको छ। नेकपा माओवादीका नेताहरुको परस्पर विरोधी भनाई सुन्दा विवाद छिट्टै सुल्झिने छाँटकाँट देखिएको छैन। यहि मुद्दाका कारण सरकार र प्रमुख प्रतिपक्षी दल बीच आउने दिनमा थप तिक्तता उत्पन्न हुन सक्ने विश्लेषकहरु वताउँछन्।

No comments: