News

Dec 8, 2008

प्रचण्डको चेतावनी सरकार छाड्नभन्दा माओवादीभित्र मत्थर पार्न मात्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राम्रो काम गर्न नदिइए सरकार छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चेतावनी सरकार छाड्नभन्दा माओवादीभित्रको बिपक्षलाई मत्थर पार्न आएको बुझ्न सकिन्छ । गणतान्त्रिक नेपालका सर्वशक्तिमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिले जसरी नै काम गर्न नदिइए पुष मसान्तभित्र सरकार छाड्ने अनौठो चेतावनी दिएका छन् । मंसिर २२ गते भरतपुर र धनगडीका छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सरकारले काम गर्ननसक्नुमा कर्मचारीतन्त्र, नेपाली कांग्रेस र बिदेशीहरुको असहयोगलाई कारण देखाएका छन् । बिधायिका संसदको दुई तिहाईभन्दा बेशीको बिश्वास प्राप्त गरिरहेका प्रधानमन्त्रीले सत्ता छाडेर जनतामा जाने पनि कार्यक्रममा उल्लेख गरेका छन् । सत्तारुढ गठवन्धनमा रहेका दलहरुबाट सरकारलाई कुनै चुनौती नआएका बेला प्रधानमन्त्रीले सरकार छाडेर जनतामा जाने कुरा गर्नुको अर्थ के हुनसक्छ, प्रधानमन्त्रीको हिजोको भनाईले राजनीतिक बजारमा बिश्लेषकहरुको टाउको रन्थन्याएको हुनुपर्छ । किनभने, नेपाली कांग्रेस प्रतिपक्षमा छ र उसले सरकारको बिरोध गर्नु प्रजातान्त्रिक पद्धतिबिपरित मानिनुहुन्न । कर्मचारीतन्त्रले सरकारलाई असहयोग गरेको प्रमाणित छैन । बिदेशीहरुबाट प्रधानमन्त्रीले कस्तो सहयोगको अपेक्षा गरेका हुन् तथा के सहयोग पाएनन्, धेरैले बुझ्न सकेका छैनन् र सायद यो कुटनीतिक बिषय भएकाले सजिलै बुझ्ने कुरा पनि होइन । माओवादीलाई संविधान बनाउन, शान्तिप्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन र सक्षम सरकार दिन जनताले मत दिएर ठूलो दल बनाएका हुन् तथा माओवादी अध्यक्ष र संसदीय दलका नेताको हैसियतमा प्रचण्ड प्रधानमन्त्रीमा आशिन भएका हुन् । प्रधानमन्त्रीको हिजोको भनाईले उनी जनताबाट पाएको जिम्मेवारीबाट पर भाग्न खोजेका हुन् कि भन्ने आशंका जन्माएको छ । माओवादीभित्रकै प्रचण्डसँग असहमतहरु भने प्रधानमन्त्रीको हिजोको भनाई पार्टीबाहिरका लागिभन्दा पार्टीभित्रकै राजनीतिको लागि आएको बताउछन् । मंसिर ६ देखि ११ सम्म भएको माओवादीको राष्ट्रिय कार्यकर्ता भेलामा सरकारप्रति देखिएको तिब्र असन्तोषलाई सम्वोधन गर्न प्रधानमन्त्रीले यस्तो नयाँ तरिका अपनाएको उनीहरुको दावी छ । मंसिर २३ गतेदेखि सुरु हुने माओवादी केन्द्रीय समितिको महत्वपूर्ण बैठकमा सरकारको बिरोधमा प्रकट हुनसक्ने असन्तोषलाई मत्थर पार्ने रणनीतिकअन्तरगत प्रधानमन्त्री प्रचण्डको हिजोको भनाई आएको पनि उनीहरुको भनाई छ । ३५ सदस्यीय माओवादी केन्द्रीय समितिमा प्रचण्डको बिपक्षमा रहेका मोहन बैद्य किरणको पक्षमा १७ सदस्य छन् भने प्रचण्डको पक्षमा पनि १७ नै । वरिष्ठ नेता रामबहादुर थापा भने तठस्थ रहेको श्रोत बताउछ । प्रधानमन्त्री प्रचण्डको सरकार छाड्ने भनाईले भोलीदेखि सुरु हुने माओवादी केन्द्रीय समितिको बैठकमा कस्तो प्रभाव पार्ला र सरकारको कार्यशैलीको बिरोध गरिरहेको बैद्य पक्षलाई कति मत्थर पार्ला, अहिले नै भन्न सकिने स्थिति छैन । तर, पार्टीको आन्तरिक राजनीतिलाई प्रभावित पार्न प्रधानमन्त्रीबाट सार्वजनिक भएको भनाईले नयाँ नेपालको सपना देखिरहेका सर्वसाधारणलाईचाहिँ निश्चितरुपमा मर्माहत बनाएको छ । किनभने, नयाँ नेपालका जनताले संक्रमणकालका सबै चुनौती सामना गर्नसक्ने छाति भएको प्रधानमन्त्री र सरकार चाहेका थिए र संविधानसभा चुनावमा मत हाल्दा धेरै मतदाताले प्रचण्डमा त्यस्तो सम्भावना देखेका पनि थिए ।

No comments: