News

Dec 13, 2008

संविधानसभाका विभिन्न समितिहरुका सभापति छान्न असम्भव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर महिनाभित्र संविधानसभाका विभिन्न समितिहरुका सभापति छान्न असम्भव भएको नेताहरुले बताएका छन्। सबै दलको सहमतिमा संविधानसभाले एक महिना अगाडि जारी गरेको कार्यतालिका अनुसार संविधान सभाका १४ र व्यवस्थापिका संसदका ९ गरी २३ समितिहरुको गठन र तिनका सभापतिहरुको चयन मंसीर मसान्त अर्थात आउंदो सोमबारसम्म भइसक्नुपर्नेछ। तर सभापति छान्न चाहिने राजनीतिक सहमति त परै जाओस्, शनिबार साँझसम्म नेपाली कांग्रेस र मधेशी जनाधिकार फोरम जस्ता ठूला दलले आफ्ना तर्फबाट ती समितिहरुका सदस्यको नामावली समेत दिएका थिएनन्।
उनीहरुले आइतबार बिहानसम्म आफ्नो पार्टीका तर्फबाट समितिका सदस्यको नामावली दिइने बताएका छन्। यस्तो अवस्थामा कार्यतालिका अनुसार काम हुन असम्भव भएको नेताहरुले नै बताउन थालेका छन्। नेकपा (माओवादी) संसदीय दलका मुख्य सचेतक दिनानाथ शर्माले नेपाली कांग्रेसको नामावली बनाउन भएको ढीलाइले सहमति प्रक्रिया शुरु हुन नसकेको आरोप लगाए। "सहमतिको लागि प्रक्रिया शुरु हुन सकेको छैन। अब त निर्वाचनमार्फत नै सभापति छान्ने हो भनेपनि मंसीरभित्र त्यसो गर्न सम्भव छैन," शर्माले भने। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको विचार भने बेग्लै थियो। "कुन समितिमा कुन पार्टीको सभापति बन्ने हो त्यसबारेमा पहिले छलफल हुनुपर्छ। नेपाली कांग्रेसले मात्र भनेर पनि हुँदैन," महतले वताए। कार्यतालिकामा सबै दललाई बाँध्न आफु प्रयत्नरत भएको बताउने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले मंगलबारदेखि संविधानसभा समितिका बैठक धमाधम हुनेमा आफु विश्वस्त रहेको बताए। "पुष एक गतेदेखि बैठक बस्न आवश्यक कर्मचारी खटाउने काम र अन्य तयारी भइरहेको छ," नेम्वाङ्गले जनाए। डेढ वर्षभित्र नयाँ संविधान लेख्ने प्रतिबद्धता कार्यतालिकामा जनाएपनि दलहरुले त्यस अनुरुपको तदारुकता देखाउन नसक्दा समयमा संविधान तयार हुनेमा विश्लेषकहरुले आशंका व्यक्त गरेका छन्।

No comments: