News

Dec 12, 2008

बालविवाहमुक्त बनाउने घोषणा भए पनि रोकिएन बालविवाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेतलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान घोषणा भएको दुई महिना नबित्दै सदरमुकामनजिकै एक १३ वर्षीया बालिकाको विवाह भएको छ । स्थानीय सामाजिक संस्थाले रोक्न प्रयास गरे पनि बिहे भएरै छाड्यो । लाटीकोइली-९ बुदबुदीनिवासी दीपा सुनार (अनिता) को वीरेन्द्रनगर-१० निवासी १९ वर्षीय गाडीचालक गोविन्द सुनारसित बिहीबार बिहे भएको हो । अनिता जन उच्चमावि वीरेन्द्रनगरमा सात कक्षामा पढि्छन् । विवाह हुन लागेको थाहा पाएपछि स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि विवाहस्थल बुदबुदी पुगेका थिए । तर, उनीहरूले गरेको प्रयास निरर्थक बन्यो । केटा र केटी पक्षका अभिभावकले मात्र होइन, दुलाहा-दुलहीले समेत राजीखुसीले विवाह गरेको बताएपछि उनीहरू जिल्ल परेका थिए । जिल्ला बालसंरक्षण अधिकृत रमा भण्डारीले 'यति सानै उमेरमा किन विवाह गर्न लागेको ?' भनेर सोद्धा दुलही बनेकी बालिकाले ठाडो भाषामा भनिन्, 'मन लाग्यो गरेँ, तपाईंहरूको किन टाउको दुख्यो ?' दुलाहा गोविन्दले आफूहरूबीच एक वर्षदेखि 'मायाप्रीति' बसेको र आपसी सहमतिमै विवाह गरेको दावी गरे । आमाले दोस्रो बिहे गरेपछि दीपा सौतेनी बाबुकहाँ बस्दै आएकी छिन् । दीपाका सौतेनी बुबा मानबहादुर सुनारले छोरीले नै मनपराएको केटोसित बिहे गरिदिएको लिम्वूवान डट व्लगस्पोट डटकमसित बताए । 'भागेर जान्छु भन्थी । मैले राम्रैसित बिहे गरिदिउँला, नभाग भनेर रोकेँ,' उनले भने । विवाह समारोहमा आएकी सुरक्षित समाजकी अध्यक्ष रचना विकले सुरुमै प्रयास नभएकाले बिहे रोक्न नसकिएको बताइन् । 'पहिले नै कोसिस गरेको भए सकिन्थ्यो । मण्डपमै गएर अवरोध गर्न मिलेन,' उनले भनिन् । 'कति वर्ष भयौ ?' भनेर उमेर सोध्ने सबैलाई दीपा र उनका माइतीले १८ वर्ष भन्ने जवाफ दिएका थिए । तर, उनी पढ्ने विद्यालयको भर्नापुस्तिकामा उनको जन्ममिति १५ असार ०५२ उल्लेख छ । यो तथ्य भेटिएपछि जिल्ला बालकल्याण समितिले विवाहमा संलग्नमाथि बालविवाहसम्बन्धी मुद्दा दर्ता गर्ने जनाएको छ ।स्मरण रहोस्, ४ कात्तिकमा सुर्खेतस्थित सरकारी तथा गैरसरकारी संघसंस्थाले दुई वर्षभित्र जिल्लालाई बालविवाहमुक्त बनाउने अभियानको घोषणा गरेका थिए । विवाहबारे स्थानीय बालसमूहका प्रतिनिधिले बुधबार नै संघसंस्थालाई खबर गरेका थिए ।

No comments: