News

Dec 10, 2008

चिराइतो किमाथांका नाकाबाट चीनतिर निकासी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुमूल्य जडीबुटी चिराइतो संखुवासभाको किमाथांका नाकाबाट चीनतिर निकासी भइरहेको छ । गत वर्षभन्दा चालू वर्षमा चिराइतो निकासी बढेको व्यापारीले बताएका छन् । व्यापारी ठिलेन साङ्बुका अनुसार कात्तिक दोस्रो सातादेखि मंसिर तेस्रो सातासम्म २० मेटि्रक टन चिराइतो चीन निकासी भएको छ । हिमपात हुनुअघि करिब ३० मेटि्रक टन चिराइतो किमाथांका नाकाबाट निकासी हुने उनले अनुमान गरे । व्यापारीले किसानसँग प्रतिमन-४० किलोग्राम) १० देखि १२ हजार रुपैयाँमा खरिद गर्ने गरेका छन् । उनीहरूले चिनियाँलाई भने २० देखि २२ हजारसम्ममा बिक्री गर्दै आएका छन् । संखुवासभा उद्योग वाणिज्य संघका सदस्य सुमन श्रेष्ठले पछिल्लो सात वर्षमा यस वर्ष चिराइतोको मूल्य उच्च भएको बताए । राम्रो मूल्य पाउने भएपछि व्यापारीले भारत निकासीका लागि धनकुटा, हिले पुर्‍याइएको चिराइतोसमेत फर्काएर किमाथांका नाका पुर्‍याउँछन् । जडीबुटी व्यापारी ङमा तेम्बाले दुई गाडी चिराइतो धनकुटाको हिलेबाट फिर्ता गरेर किमाथांका लगेको सुनाए । उत्तरी नाका किमाथांकाबाट जडीबुटी निकासी गर्दा राजस्व प्रभावित भएको छ । उत्तरी क्षेत्रमा वन कार्यालयको पोस्ट नहुनाले छोडपुर्जी माग्न कोही गएका छैनन् । मकालु वरुण राष्ट्रिय निकुञ्जमा पनि छोडपुर्जी लिनेको संख्या कम छ । व्यापारीले किमाथांका नाका छलेर रिदाकबाट समेत निकासी गर्दै आएकाले राजस्व संकलनमा कमी आएको निकुञ्जको हटिया इलाकाका निमित्त प्रमुख कमान्डिङ राईले बताए ।

No comments: