News

Dec 8, 2008

'मिसन लभ इन सिक्किम' नेपालमा प्रदर्शन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिक्कम निवासी हुन् रुश्मा राई । पछिल्लो समय उनको कर्मथलो बनेको छ नेपाल । नेपाली फिल्ममा जमेर लाग्ने सोच बनाएकी रुश्माले अभिनय गरेको पछिल्लो फिल्म 'मिसन लभ इन सिक्किम' नेपालमा सार्वजनिक प्रदर्शन हुने भएको छ । 'दर्शकले कस्तो प्रतिक्रिया दिन्छन् भनेर प्रतीक्षा गरेर बसेकी छु,' रुश्माले भनिन् । सिक्किमवासी यी हिरोइनले 'मिसन लभ इन सिक्किम' प्रति निकै आशावादी भएको बताइन् । किनकि, यसमा मन फुकाएर अभिनय गरेकी छिन् उनले । भन्छिन्, 'मेरो रोल नै युनिक छ यस फिल्ममा ।' अधिकांश सुटिङ सिक्किममै गरिएको छ यसमा । दुवै मुलुकका नागरिकको संवेदना समेटिएको दाबी गर्ने रुश्मा यस फिल्मले दुवै मुलुकका नागरिकको आवाज बोलेको दाबी गर्छिन् ।सिक्किमभन्दा नेपाल नै रमाइलो लाग्दो रहेछ उनलाई । संस्कृतिका हिसाबले सिक्किम र नेपाललाई उस्तै देख्ने रुश्माले नेपालमा नेपाली फिल्म र भाषालाई माया गर्नेहरू बढी भेटेकी छिन् । त्यसो त यस फिल्ममा पनि नेपाली हुनुकै गाथा गाएको दाबी गरे यसका निर्देशक शोभित बस्नेतले पनि । रुश्माका अतिरिक्त केही नेपाली र केही सिक्किमेली कलाकारले अभिनय गरेका छन् यसमा । यद्यपि रुश्माको यो पहिलो फिल्म भने होइन । यसअघि नै उनले 'शहीदगेट' मा अभिनय गरिसकेकी छिन् । शहीदगेटमा ग्ल्यामरस भूमिका निर्वाह गरेकी रुश्मा यसमा कस्ती देखिएकी होलिन् ? 'अन्य हिरोइनका तुलनामा आफू पनि ग्ल्यामरस रूपमै प्रस्तुत भएको बताइन् । 'सिनेमामा हुनुपर्ने ग्ल्यामर मैले पनि दिएकी छु,' उनले भनिन् ।सिक्किममा प्रशस्त नेपालीभाषी रहेको धारणा राख्ने निर्देशक बस्नेतले सिमानाको कारण उताका नेपालीभाषीले हाम्रो भाषालाई बढी माया गरेको पाएका छन् । भन्छन्, 'म त अर्को फिल्म पनि उतै सुटिङ गर्छु ।' नेपालको प्रदर्शनपछि 'मिसन लभ इन सिक्किम' लाई सिक्किममा प्रदर्शन गर्ने योजना बनाएका छन् बस्नेतले । आउँदो शुक्रबार मोफसलका सहरमा फिल्म प्रदर्शनका लागि जुटेका बस्नेत अर्को फिल्म 'जंगबाज' को पनि अन्तिम तयारीमा छन् ।

No comments: