News

Dec 8, 2008

गिरिजाप्रसाद कोइराला आइसियूमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला धनगढीबाट राजधानी फर्किने क्रममा आइतबार अचानक अस्वस्थ भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा भर्ना भएका छन् । चिकित्सकका अनुसार उनको दाहिने फोक्सोको तल्लो भागमा निमोनिया भएको छ । कञ्चनपुरबाट हेलिकोप्टरमा धनगढी आएर मध्याह्न १२:४५ बजे उनी बुद्ध एयरबाट काठमाडौं प्रस्थान गरेका थिए । विमानभित्रै अस्वस्थ भएपछि सभापति कोइरालालाई त्रिभुवन विमानस्थलबाट सीधै बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको थियो । कोइरालाको उपचारमा संलग्न चिकित्सक भगवान् कोइरालाले स्वास्थ्य परीक्षणपछि उनको दाहिने फोक्सोको तल्लो भागमा निमोनिया देखिएको जानकारी गराए । कोइरालालाई सघन उपचार कक्षमा राखिएको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सामान्य सुधार भएको छ । चिकित्सक कोइरालाले सभापति कोइरालालाई केही समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताएका छन् । काठमाडौं आउनेक्रममा धनगढी विमानस्थलमा कोइरालाले आफूलाई चिसो महसुस भएको बताएका थिए । विमानमा चढेपछि उनलाई स्वासप्रश्वासमा असजिलो भएको थियो । उनको साथमा रहने अक्सिजनले समेत नधानेपछि उनी केही समय बेहोसजस्तै भएको उनीसँगै यात्रामा रहेका एक सहयोगीले बताए । उनले विमानयात्राकै क्रममा बान्तासमेत गरेका थिए । विमानमै उनलाई ज्वरो आएको थियो । डा. कोइरालाद्वारा जारी विज्ञप्तिमा 'धनगढीबाट काठमाडौं आउनेक्रममा ज्वरो आउनुको साथै अक्सिजनको मात्रामा समेत कमी भएको लक्षण देखिएको' उल्लेख छ । कोइरालाको उपचारमा डा. कोइरालाका साथै मनबहादुर केसी, डा. अर्जुन कार्की र जगदीश अग्रवाल संलग्न छन् ।काठमाडौं विमानस्थलमा उत्रिएपछि भने कोइराला सामान्यझैं देखिएको स्रोतले बतायो । उनलाई लिन गंगालालबाट एम्बुलेन्स विमानस्थल पुगिसकेको थियो । तर, कोइराला भने घर जाने ढिपी लिइरहेका थिए । उनलाई सहयोगीहरूले आफ्नै निजी गाडीमा राखेर अस्पताल लगे । सरकारबाट बाहिरिएपछि सभापति कोइराला पार्टीको संगठन मजबुत बनाउन सुरु भएको राष्ट्रिय जनजागरण अभियानमा सक्रिय छन् । चिकित्सकले उनको उमेर र स्वास्थ्य अवस्था हेरेर आराम गर्ने सल्लाह दिए पनि उनी काठमाडौं र उपत्यकाबाहिर जिल्लामा हुने आमसभामा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै आएका छन् ।सभापति कोइराला लामो समयसम्म धूमपान गर्नेलाई फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित छन् । धूमपानका अम्मली ८६ वर्षीय कोइरालाले तीन वर्षअगाडि मात्र चुरोट छोडेका थिए । १७ जेठ २०६३ मा विश्व धूमपान दिवसका अवसर पारेर कोइरालाले चुरोट त्याग्ने घोषणा गरेका थिए । क्रोनिक अब्सट्रयाटिक पल्मोनरी डिजिज नामक रोग लागेका व्यक्तिलाई स्वासप्रश्वासको समस्या हुन्छ । सोही समस्याका कारण कोइरालाले दैनिक ५/६ पटक अक्सिजन लिने गरेका छन् । उनी जहाँ गए पनि सधैं अक्सिजनको सिलिन्डर साथमै हुन्छ । चिकित्सकहरूका अनुसार कोइरालालाई लागेको रोग पूरा निको हुन सक्दैन । यो बिस्तारै बढ्दै जाने र फोक्सोलाई बिगार्दै जाने चिकित्सकहरू बताउँछन् । कोइरालालाई कति दिन राख्नुपर्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. कोइरालाले भने, 'डाक्टरसँग त्यस्तो जादुको छडी के छ र ?'

No comments: