News

Dec 11, 2008

सरकार र तराईको एउटा सशस्त्र समूहबीच वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी वार्ता समितिले तराईमा सक्रिय एउटा समूहसंग पहिलो पटक औपचारिक वार्ता गरेको छ।
तराईमा सक्रिय दुई दर्जन सशस्त्र समूहहरु मध्येको एक मधेशी भाइरस किलर्स नामक समूहको टोलीसंग सरकारी वार्ता टोलीले सम्वाद थालेको हो। सरकारको सो वार्ता टोली तीन महिनाअगाडि गठन भएको थियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आयोजित डेढ घण्टा लामो वार्तापछि दुवै टोलीका सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेका थिए। सो वक्तव्य पढ्दै सरकारी वार्ता टोलीका संयोजक एवम् शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले मागहरुलाई संविधानसभाद्वारा पुरा हुने र सरकारले तत्काल पूरा गर्न सक्ने गरी वर्गीकृत गरीने बताए। अर्को वार्ताको मिति आपसी समझदारीमा तय गरिने पनि उनले उल्लेख गरे। सरकारी टोलीका अर्का सदस्य स्थानीय विकास मन्त्री रामचन्द्र झाका अनुसार भाइरस किलर्स समूहले ११ सूत्रीय माग पेश गरेको छ। वार्तापछि बोल्दै सो समूहका संयोजक जयप्रकाश यादवले नयाँ नेपाल बनाउन आफुहरु प्रतिबद्ध भएको जनाए। "नयाँ संविधान निर्माणमा मधेसका समुदाय खासगरी सशस्त्र समूहहरुको पनि सहभागिता होस् भन्ने उद्देश्यले हामीले बहादुरी देखाएर सबैभन्दा पहिले वार्तामा आएका हौं," यादवले भने। हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, वार्तामा सहभागी हुन मधेशी भाइरस किलर्सका पाँच सदस्यीय टोली सिंहदरबार आइपुग्दा पत्रकारहरुमाझ सो भूमिगत समूहका सदस्यहरुको तस्वीर खिच्न तँछाडमछाड भएको थियो। सदस्यहरुलाई नचिन्दा त्यहाँ एकछिन अन्योल छाएको थियो। तराईमा सक्रिय थुप्रै सशस्त्र समूहहरु मध्येको एक समूहसंग सरकारले औपचारिक वार्ता थाले पनि अन्य समूहसंग कहिले थाल्ने हो प्रष्ट भइसकेको छैन। त्यस्ता समूहहरुको संख्या यकीन छैन।

No comments: