News

Dec 5, 2008

वाईसीएलद्वारा एमाले कार्यालय तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुधबार राति मोरङको जाँतेमा सामुदायिक जंगलबाट वाईसीएलले ल्याउँदै गरेको एक ट्रक दाउरा गाउँलेहरूले नियन्त्रणमा लिएपछि उत्पन्न विवादले बिहीबार मोरङका विभिन्न ठाउँ तनावग्रस्त भएका छन्। विराटनगरमा रहेको वाईसीएल क्याम्पका लागि ल्याउँदै गरेको दाउरा युथफोर्सले कब्जा गरी वाईसीएल कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाउँदै वाईसीएलका कार्यकर्ताहरूले बिहीबार साँझ मोरङको व्यापारिक बजार पथरीमा र जाँतेमा रहेको एमाले पार्टीकार्यालय तोडफोड गरी आगजनी गरेका छन्। वाईसीएलका कार्यकर्ताले एमाले पार्टी कार्यालय तोडफोड गरेपछि स्थानीय मोफसल साप्ताहिकमा कार्यरत पत्रकार चेतन पौडेल, पथरी व्यापार संघका सदस्य दीपक बस्नेत, गोवर्द्धन मगर, नरबहादुर मगरलगायत चार जनालाई अपहरण गरी लगेको एमाले मोरङले जनाएको छ। पथरीका स्थानीय बासिन्दाका अनुसार साँझ साँढे ५ बजेतिर ठूलो समूहमा आएका वाईसीएलका कार्यकर्ताले एमालेको पार्टीकार्यालयको डेक्स बेन्च बाहिर झिकी आगजनी गरेका हुन्। उनीहरूले पत्रकार चेतन पौडेलको को४प ६८२ नम्बरको मोटरसाइकलसमेत जलाइदिएका छन्। सो घटनामा एमालेका कार्यकर्ता सुमन कार्कीर्,र् इश्वर आँसु मगरलगायत घाइते भएको युथफोर्स मोरङका इन्चार्ज पर्शु बस्नेतले बताउनुभयो। आक्रोशित बनेका वाईसीएल कार्यकर्ताले जाँते तथा पथरीका एमाले कार्यकर्ता डिल्ली तिम्सिना, उपेन्द्र घिमिरे, सोम निरौला, कृष्ण लुइँटेल, ज्ञानु मगरलगायतको घर तोडफोड गरेका छन्। घटनापछि पथरी बजार तनावग्रस्त भएको छ। सबै बजार बन्द छन्। नेकपा (एमाले) मोरङले राति घटनामा कति कार्यकर्ता अपहरण र कुटपिटमा परे भन्ने जानकारी पूर्ण रूपमा आइनसकेको बताएको छ। वाईसीएलका जिल्ला अध्यक्ष हिक्मतले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अब वाईसीएलका कार्यकर्ता हातमा दही जमाएर नबस्ने र जिल्लाव्यापी भिडन्तमा उत्रिने बताए। उनले सो घोषणा गरेलगत्तै विभिन्न ठाउँमा एमालेको कार्यालय र कार्यकर्तामाथि आक्रमण भएको हो। यसैबीच वाईसीएलले विज्ञप्ति जारी गर्दै बुधबार राति वैधानिक रूपमा ल्याउँदै गरेको काठ जबर्जस्ती नियन्त्रणमा लिई आफना कार्यकर्ताहरूलाई कुटपिट गरेको र मोरङको पथरीमा रहेको पार्टी कार्यालयमा तोडफोड गरेको जनाएको छ। वाईसीएलले युथफोर्सका कार्यकर्ताले ६ लाख ५० हजारको क्षति पुर्याई केही रकम लुटपाट गरेको समेत जनाएको छ।यसअघि बुधबार राति मोरङ जाँते गाविसस्थित मदन चोकमा दाउरा विवादमा वाईसीएलका कार्यकर्ता र गाउँलेबीच भिडन्त हुँदा दुइ गाउँलेसहित ६ जना घाइते भएका थिए। दाउरा अवैध रुपमा ल्याएको भन्दै प्रतिकार गरेपछि दोहोरो भनाभनसँगै झडप भएको थियो। माओवादीका कार्यकर्ता वन समितिको अध्यक्ष रहेको वनबाट गुपचुप रुपमा विराटनगर दाउरा ल्याउने क्रममा भिडन्त भएको थियो। भिडन्तमा वाईसीएलका कार्यकर्ता गणेश दर्नाल, दिनेश राजवंशी र स्थानीय गाउँले कृष्ण सापकोटा, ज्ञान मगरसहित ६ जना घाइते भएका छन्.।सो घटनापछि गाउँलेले वाईसीएल कार्यकर्ता, इलामका समिर दाहाल, कटहरी मोरङका सरोजकुमार राजवंशी, मोरङ कर्सियाका सञ्जय सरदार र खोटाङका राजेशकुमार खत्रीलाई नियन्त्रण्मा लिई प्रहरीको जिम्मा लगाएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङले घटना भएका स्थलहरूमा व्यापक रुपमा प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएको बताएको छ।

No comments: