News

Dec 6, 2008

सरकारी गाडीमा रक्सी र खसी बोकेर पिकनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, २१ मंसिर सरकारी गाडी सामान्यतः कार्यालय प्रयोजनका लागि प्रयोग गरिन्छ । तर, जिल्ला अदालत धनकुटाका कर्मचारी रक्सी, खसी र परिवार बोकेर सरकारी गाडीमा 'पिकनिक' जाने गरेका छन् । सरकारी कार्यालय बिदाको दिन शनिबार अदालतका कर्मचारी ग्यालेनभरि रक्सीसहित खसी र खाद्यवस्तु गाडीमा राखेर पिकनिक गएका हुन् । तर, उनीहरू पिकनिकस्थल नपुग्दै गाडी कब्जामा परेको छ । श्रेस्तेदार हरिराज कार्की र अन्य कर्मचारीसहित उनीहरूका परिवार भे.१झ१४९ नम्बरको जिल्ला अदालत धनकुटाको गाडी चढेर शनिबार पिकनिक जाँदै थिए । सरकारी सम्पत्तिको दुरुपयोग गरिएको भन्दै धनकुटा नगरपालिका-७ स्थित हुलाक टोलबाट युथफोर्सले गाडी कब्जामा लिएको हो । युथफोर्स धनकुटाका अध्यक्ष प्रवीण पोखरेलको नेतृत्वको टोलीले गाडी कब्जामा लिएको हो । कब्जा गाडीमा एक ग्यालेन 'लोकल' रक्सी, एउटा खसी र खाद्यवस्तु थियो । युथफोर्सले गाडी रोकेर शनिबार चलाउने प्रशासनको अनुमतिपत्र माग्दा अदालतका कर्मचारीले देखाउन सकेनन् । अनुमतिपत्र नलिएका उनीहरूले त्यसपछि गाडी त्यहीँ छाडे । त्यसपछि गाडीमा राखिएको रक्सीको ग्यालेन, खाद्यवस्तु र भाँडाकँुडा बोकेर उनीहरू खसी डोर्‍याएर पिकनिकस्थल पुगे । प्रमुख जिल्ला अधिकारी रामुप्रसाद उपाध्यायले अदालतका कर्मचारीले शनिबार चलाउने अनुमति नलिएको बताउँदै न्याय क्षेत्रको गाडी भएकाले प्रशासनबाट कुनै कारबाही गर्न नसकिने बताए । सोही गाडी चढेर गत शनिबार पनि जिल्ला अदालतका कर्मचारी परिवारसहित पिकनिक गएका थिए ।

No comments: