News

Dec 6, 2008

माओवादीको नाममा तीव्र वन फँडानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुपाल्चोक, २१ मंसिर गाउँलेले घाँस-दाउरा गर्दै आएको वन कब्जामा लिएर माओवादीको नाममा तीव्र फँडानी भइरहेको छ । बाँडेगाउँ गाविस-५ स्थित ओडारे गुफाडाँडा वन फँडानी भएको हो । आफूलाई माओवादी बताउँदै १० जनाको समूहले तीन दिनदेखि रूख कटान गरिरहेको स्थानीय लक्ष्मण थापाले बताए । उनका अनुसार हालसम्म करिब डेढ लाख मूल्यका दुई सयभन्दा बढी उत्तीस र चिलाउनेका रूख काटिएका छन् । सो वन स्थानीय कमल थापाको व्यक्तिगत भएको, तर गाउँलेले प्रयोग गर्दै आएको पनि उनले बताए । माओवादी सिन्धुपाल्चोक ६ नम्बर इलाका इन्चार्ज भएको बताउने कमल दनुवारको नेतृत्वमा वन फँडानी भइरहेको गाउँलेले बताएका छन् । 'गाउँलेले उपभोग गर्दै आएको वन फँडानी गर्न पाइँदैन,' स्थानीय विदुर तामाङले बताए । उनले भने, 'रूख कटानी गरेकोबारे कसैलाई नभन्न सो समूहले गाउँलेलाई दबाब दिएको छ ।' वन फँडानीको नेतृत्व गरिरहेका माझीले समेत आफू माओवादी इलाका नं. ६ को इन्चार्ज भएको दाबी गरेका छन् । 'पार्टी इलाकास्तरीय निर्णयबाट रूख कटान गरेका हौँ,' आफूहरूले वन फँडानी गरेको स्विकार्दै उनले भने, 'सो जंगल सामन्तको भएकाले युद्धकालदेखि नै माओवादीको कब्जामा छ ।' स्थानीय क्लब, विद्यालय र खानेपानीको क्षेत्रमा लगानी गर्न रूख कटान गरेको पनि उनले बताए । उनका अनुसार रूख बिक्रीका लागि ठेकेदारसँग कुराकानी भइसकेको छ । माओवादी जिल्ला नेतृत्वले पनि वन फँडानीमा संलग्न माझी इलाका इन्चार्ज भएको जनाएको छ । 'माझी ६ नं. इलाका इन्चार्ज हुन्' माओवादी जिल्ला नेता माधव सापकोटाले भने । उनले वन फँडानी गर्ने माओवादी पार्टीको कुनै निर्णय नभएको स्पष्ट पार्दै फँडानीको विषयमा वास्तविकता बुझने बताए । वनको स्वामित्व भएका डा. कमलले आपनो नाममा भए पनि स्थानीय बासिन्दाले प्रयोग गरेको बताउँदै माओवादी नाममा फँडानी भएकोमा आपत्ति जनाए ।

No comments: