News

Dec 11, 2008

एमालेका सभासद्ले बामदेव गौतमको राजीनामा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका सभासद्ले आफ्नै पार्टीबाट गृहमन्त्री बन्नुभएका बामदेव गौतमको राजीनामा माग गरेका छन्। संविधानसभा व्यवस्थापिका संसद्को विहिवारको बैठकको विशेष समयमा एमालेका सभासद् लालबाबु पण्डितले शान्ति सुरक्षाको कायम गर्न नसकेको भन्दै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभएको हो। उहाँले गृहमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शिखण्डी बनेको आरोप पनि लगाउनु भयो। देशमा अपराध बढिरहेको भन्दै सभासद् पण्डितले यस्ता समूहलाई सरकारले कानुनी दायरामा ल्याउन नसकेको बताउनुभयो । सरकारले अपराधीलाई कारबाही गर्नेतर्फ ध्यान नदिए जनता आफैंले कारबाही गर्ने चेतावनीसमेत उहाँले दिनुभयो। कांग्रेसका सभासद् पुष्पा भुषालले अहिले हुकुमी शासन चलिरहेको भन्दै वाईसीएल र युथ फोर्सको झडपले जनता मारमा परिरहेको बताउनु भयो। महिला हिंसा अन्त्य गर्ने बारेमा राज्य गम्भीर नभएको उहाँले आरोप लगाउनु भयो । मालेका सभासद् तिलक थापाले शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री असफल भएको बताउनु भयो। जनमोर्चाका सभासद् अमिक सेरचनले बहुमतीय प्रणालीमा लागेका कारण देशमा संकट आएको बताउनु भयो।

No comments: