News

Dec 8, 2008

दुई सहायक क्याम्पस प्रमुखलाई विद्यार्थीले २० घन्टासम्म बन्धक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, २३ मंसिर सिद्धनाथ बहुमुखी क्याम्पसका दुई सहायक प्रमुखलाई विद्यार्थीले २० घन्टासम्म बन्धक बनाएका छन् । विद्यार्थीले उनीहरूलाई दिसा-पिसाबका लागिसमेत बाहिर निस्कन दिएनन् । कञ्चनपुर सदरमुकाम, महेन्द्रनगरमा रहेको सिद्धनाथ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखद्वय हरिशचन्द्र भट्ट र राजेन्द्रप्रसाद भट्टलाई स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बन्धक बनाइएको हो । स्ववियु सभापति अकिल सिंहको नेतृत्वमा रहेको विद्यार्थी-समूहले आइतबार दिउँसो ३ः३० बजेदेखि सोमबार बिहान ११ बजेसम्म क्याम्पसकै कोठामा बन्धक बनाएका हुन् । हरिशचन्द्र नेपाल प्राध्यापक संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । 'सबैलाई बाहिर निस्कन लगाएर हामीलाई थुने,' बन्धक बनेका सहायक क्याम्पसप्रमुख हरिशचन्द्रले भने । दुवैलाई क्याम्पसको 'स्टाफ कक्ष' ५ नं. कोठामा बन्धक बनाइएको थियो । 'दिसा-पिसाबसमेत गर्न दिएनन्,' उनले भने 'ढोकामा ताला लगाए, झ्यालसमेत बन्द गरे ।' बाहिरबाट आएका मान्छेसँग समेत बोलचाल गर्न नदिइएको अर्का बन्धक राजेन्द्रप्रसादले बताए । अकिल सिंहकै नेतृत्वमा रहेको विद्यार्थी-समूहले राति ९ बजे उनीहरूलाई क्याम्पसकै क्यान्टिनमा खाना खान दिएका थिए । राति साढे ९ बजे खाना खाएपछि पनि पुनः उनीहरूलाई थुनियो । 'खाना खाएपछि अर्को कोठामा लगेर राखे,' प्राध्यापक भट्टले भने । साढे ९ बजेपछि उनीहरूलाई क्याम्पस प्रमुखको कार्यकक्ष १ नं. कोठामा लगेर राखिएको थियो । राति पनि उनीहरूलाई त्यहीँ सुत्न लगाइएको थियो । 'घरबाट कपडा मगाएर त्यहीँ सुतेँ,' प्राध्यापक राजेन्द्रले भने । स्ववियु सभापति अकिलसहित तीनजना विद्यार्थी पनि राति उनीहरूलाई कुर्न क्याम्पसमै बसेका थिए । राति बाहिर-भित्र गर्दा समेत उनीहरूले छोडेका थिएनन् । रातभरि सँगै रहेका विद्यार्थीहरू सोमबार बिहान ५ बजे नै उठेर बाहिर निक्लेका थिए । 'उनीहरू बाहिर निस्के, हामीलाई भित्रै थुने,' भट्टले घटनाबारे सुनाए, 'बाहिरबाट घेरिरहेका विद्यार्थीले हामीलाई जिस्क्याइरहे । 'सर, बोतल चाहियो, पिसाब लाग्यो ?' प्राध्यापक, अनेरास्ववियु तथा अन्य विद्यार्थीको दबाबपछि दुवै सहायक क्याम्पस प्रमुखलाई बिहान साढे ८ बजे बाहिर आउन दिएका थिए । कोठाबाट बाहिर आउन दिए पनि क्याम्पस हाताभन्दा बाहिर जान नदिइएको बन्धक बनाइएका सहायक क्याम्पस प्रमुख राजेन्द्रप्रसाद भट्टले बताए । उनीहरूले बिहान साढे ११ बजेपछि मात्रै सहायक क्याम्पस प्रमुखद्वयलाई मुक्त गरेका थिए । आफ्ना मागप्रति वास्ता नगरेकाले क्याम्पसमै थुनेर राखिएको स्ववियु सभापति अकिल सिंहले बताए । 'मागप्रति प्रशासनले ध्यान दिएन । थुन्न बाध्य भयौँ,' उनले भने । स्ववियुले तीन दिनअघि विभिन्न माग राखी क्याम्पस प्रशासनलाई ज्ञापनपत्र दिएको थियो । उनीहरूले दिएको ज्ञापनपत्रमा क्याम्पसका सबै विद्यार्थीलाई १३ प्रतिशत छात्रवृत्ति दिनुपर्ने, शुल्क घटाउनुपर्ने उल्लेख छ । उनीहरूका माग सञ्चाक समितिको बैठकमा राखेर पूरा गर्न पहल गर्ने आश्वासन दिँदा-दिँदै बन्धक बनाइएको सहायक क्याम्पस प्रमुखद्वयले बताए ।

No comments: