News

Dec 14, 2008

प्रधानमन्त्रीको हतियार उठाउने धम्कीको तीव्र आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विपक्षी कांग्रेस तथा तथा सत्तारूढ सभासदहरूले प्रधानमन्त्रीको फेरि हतियार उठाउने धम्कीको तीव्र आलोचना गर्दै त्यसले राष्ट्रिय सहमतिको सम्भावनालाई कमजोर बनाएको आवाज उठाएका छन्। माओवादी सभासदले भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजनमा सहयोग नगरेर आफ्नो दललाई पुनः जंगल पठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको हैसियतमा आइतबार बसेको संविधानसभा बैठकको शून्य र विशेष समयमा विपक्षी र सत्तारूढ सभासदहरूले एक अर्काप्रति तीव्र आरोप प्रत्यारोप गरेका हुन्।कांग्रेस सभासदहरू कमला थापा, कल्याणी रिजाललगायतले प्रधानमन्त्रीले अरू दललाई धम्क्याउन फेरि हतियार उठाउने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसमा सरकारको स्पष्टीकरण माग गरेका थिए। उनीहरूले सदनबाटै प्रधानमन्त्रीले सशस्त्र द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति मंसिर मसान्तसम्ममा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन नगरेर सदन र जनतालाई ढाँटेको आरोपसमेत लगाए। माओवादी सभासदहरूले कांग्रेस र त्यसका नेता कोइरालामाथि सेना समायोजन विशेष समितिलाई काम गर्न नदिएर काग्रेसले सरकार असफल बनाउने खेल खेलेको दोषारोपण गरे। एमाले सभासद भीम रावलले हतियार उठाउने धम्कीपूर्ण र सरकारलाई असफल बनाउन षड्यन्त्र गरेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले जनतामा निराशा बढाएको बताए। उनले आफैं निर्णय गर्ने र काम गर्ने ठाउँमा पुगेका प्रधानमन्त्रीले नै यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिंदां अस्थिरता बढाउनेहरूलाई हौसला मिलेको दाबी गरे।

No comments: