News

Dec 3, 2008

भेनेजुयला नेपाललाई सहुलियतमा तेल दिन सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भेनेजुयला नेपाललाई सहुलियतमा तेल दिन सकारात्मक देखिएको अर्थमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । विकासका लागि सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित कुरा गर्दै अर्थमन्त्री डा. भट्टराईले सो जानकारी दिएका हुन् । उनले भेनेजुयलाका उपविदेशमन्त्री जोगरसित भेट गरी सहुलियतमा तेल दिने विषयमा छलफल गरेका थिए । 'यो हामीजस्तो तेल आयात गर्ने राष्ट्रको लागि सुखद कुरा हो,' अर्थमन्त्रीले भने । डा. भट्टराईका अनुसार नेपाल र भेनेजुयलाबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानपछि सम्भाव्यताको खोजी हुनेछ । उनले चीनसँग नेपालका वस्तुलाई सहुलियतपूर्ण प्रवेशका लागि समेत आग्रह गरेको जानकारी दिए । उनले चीनका उपविदेशमन्त्री ही यफीसँग यस विषयमा छलफल गरेका थिए । भट्टराईका अनुसार चीनले नेपाली वस्तुको सहुलियतको सूची पठाउन आग्रह गरेको छ । डा. भट्टराईले चीनलाई नेपालसम्म ल्हासाको रेलमार्ग जोड्नसमेत आग्रह गरेको जानकारी दिए । 'मैले चीनसँग नेपालसम्म रेलमार्ग जोड्ने प्रस्ताव गरेँ,' उनले भने, 'यस विषयमा समेत चीन सकारात्मक छ ।'उनले विकासशील मुलुकको तर्फबाट धनी राष्ट्रले आफ्नो आम्दानीबाट दिने भनेको शून्य दशमलव सात प्रतिशत तत्काल कार्यान्वयन हुनुपर्ने माग राखेको बताए । 'हामीले सन् २००२ को बैठकमा भएको यो प्रतिबद्धता कार्यान्वयनको आवाज उठायौं डा. भट्टराईले भने । उनले सम्मेलनमा धेरै राष्ट्रका प्रतिनिधिसँग द्विपक्षीय व्यापारको बारेमा छलफल गर्ने अवसर मिलेको बताए । सम्मेलनमा ४० राष्ट्रका राष्ट्रप्रमुख र डेढ सयजति अर्थमन्त्री एवं विदेशमन्त्रीको उपस्थिति थियो ।

No comments: