News

Dec 3, 2008

इटहरीमा चारवटा भारतीय नम्बरप्लेटका गाडी कब्जामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आधा दर्जन जातीय संगठनका कार्यकर्ताले मंगलबार इटहरीमा चारवटा भारतीय नम्बरप्लेटका गाडी कब्जामा लिएका छन् ।गत कात्तिकमा भारतीय मालवाहक ट्रकको ठक्करबाट ज्यान गुमाएका दुईजनाको परिवारलाई उचित क्षतिपूर्ति तथा चालकमाथि कारबाहीको माग गर्दै उनीहरूले गाडी कब्जामा लिएका हुन् । भारतीय मालवाहक ट्रकले मोरङको पथरीमा ठक्कर दिँदा धरान-१९ का धनसेर लाबुंग (लिम्बू) र यामबहादुर लिम्बूको गत १७ कात्तिकमा घटनास्थलमै मृत्यु भएको थियो । संयुक्त रूपमा थालिएको आन्दोलनको दोस्रो चरणअन्तर्गत भारतीय गाडी कब्जामा लिइएको लिम्बूवान संयुक्त मोर्चाका सुनसरी सचिव कमल चोङवाङले बताए । उनका अनुसार बिहेमा ल्याइएको डब्लुबी७३ए १५६७ नम्बरको डिलक्स ट्राभल्स बस, बिआर ४३/५७०९ नम्बरको सुमो गाडी र युपी २५ टी ८१४८ नम्बरको स्याउको ट्रक गरी चारवटा गाडी कब्जामा लिइएको छ । ती गाडी प्रहरीको जिम्मा लगाइएको छैन । बिहेमा ल्याइएको गाडी नियन्त्रणमा लिए पनि बेहुला र जन्तीलाई भने नेपाली गाडी रिजर्भ गरेर जोगवनी पठाइएको चोङवाङले बताए । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र चालकलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न नेपाल र भारतका प्रशासन मन्जुर नभएसम्म कब्जामा लिइएका गाडी नछाड्ने जातीय संगठनले जनाएका छन् । आन्दोलनको तेस्रो चरणअन्तर्गत बुधबारबाट पूर्वमा अनिश्चितकालीन यातायात बन्द गर्ने पनि ती संगठनको चेतावनी छ ।

No comments: