News

Mar 16, 2009

आठ जना जर्नेलको अवधि थप भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्लो पटक आठ जना जर्नेलको अवधि थप नभएपछि सेना र सरकारबीचको सम्बन्ध थप चिसिएको छ । सेनाले आठ जना जर्नेलको तीन बर्ष अवधि थप्न सिफारिस गरेको प्रस्ताव रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा नलगेपछि उनीहरुले अवकास पाएका हुन् ।यसअघि सेनाको सिफारिस अनुसारनै सैन्य अधिकृतको अवधि थप गर्ने गरिएपनि पहिलो पटक रक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा नलगेको हो ।
जर्नेलको अवधि थप नभएपछि असन्तुष्ट बनेका प्रधानसेनापति रुक्माङगद् कटवालले आफै राष्ट्रपति डा.रामबरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री रामबहादुर थापालाई भेटेका छन् ।
कटवालले बिहान ११ बजे राष्ट्रपति यादवलाई भेटेर आफ्नो गुनासो पोखेका छन् । एकघण्टा लामो उक्त भेटलाई सेनाले भने नियमित भनेको छ । यस्तै अपरान्ह प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भएको भेटमा उनले जर्नेलहरुको पदावधि नथप्ने सरकारी कदमप्रति असन्तुष्टि जनाएका छन् ।भेटमा कटवालले सबै जर्नेलको पदावधि थप्नुपर्नेमा जोड दिएको श्रोतले जनाएको छ । तर उक्त भेटबारे दुवै पक्षले कुनै प्रतिक्रिया दिएका छैनन् ।नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रिले रक्षा मन्त्रालयले जर्नेलहरुको पदावधि थप्ने / नथप्नेबारे आफूहरुलाई कुनै जानकारी नगराएको बताए । उनीहरुको अवधि थपिने सम्भावना अझै बाँकी रहेको उनले बताए ।रक्षाले जर्नेलहरु प्रदीप बिक्रम राणा, पवनबहादुर पाण्डे, राजीवप्रताप केसी, कुमार बुढाथोकी, नरेन्द्र रावल, शिव पौडेल, रमेश बिष्ट र नरबहादुर कँडेलको पदावधि थप्ने सिफारिस मन्त्रिपरिषद्मा नलगेपछि सोमबारबाट अवकास पाएका हुन् ।सैनिक ऐनमा चार बर्ष बिग्रेडिएर जनरलको अवधि पूरा भएकालाई पहिलो पटक चार बर्ष र दोश्रो पटक तीन बर्ष अवधि थप्न सक्ने व्यवस्था छ ।

No comments: