News

Mar 16, 2009

तीन दिनदेखि बेवारिसे अवस्थामा सभासद्को शव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा तीन दिनदेखि बेवारिसे अवस्थामा रहेको शव सभासद्को भएको पत्ता लागेको छ । नयाँ संविधानका निर्माणका लागि धनकुटा र सुनसरीमा सुझाव संकलन टोलीमा खटिएका कांग्रेस सभासद् बोधनारायण सरदारको शुक्रबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।सुनसरीमा भएको सुझाव संकलनमा सहभागी भई विराटनगर जाँदै गर्दा उनी चढेको मोटरसाइकल मोरङको बाँसबारी राजमार्गमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सभासद् सरदारको शुक्रबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएको छ । मोटरसाइकलचालक सुनसरीको दुहवी-९ घर भएका लोकेश पोखरेलको पनि घटनामा मृत्यु भएको थियो ।पोखरेलको शुक्रबार नै सनाखत भए पनि सरदारको शव सनाखत नभएपछि शवगृहमा राखिएको थियो । कांगे्रसका सुनसरी सभापति रामबहादुर बस्नेतले आइतबार सभासद् सरदारको सनाखत गरेका हुन् ।स्थानीय कांग्रेस नेताहरूले प्रहरी प्रशासनको लापरबाहीका कारण तीन दिनसम्म शवको सनाखत हुन नसकेको आरोप लगाएका छन् । प्रहरीले लापरबाही गरेको बताउँदै सुनसरीको दुहबीदेखि मोरङको बाँसबारी सडकखण्डमा नेपाली कांग्रेस निकट मजदुरहरूले आइतबार राति साढे ७ बजेदेखि यातायात बन्द गराए ।सभासद् सरदार आइतबार सुनसरी कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा सहभागी हुने कार्यक्रम थियो । तर, तोकिएको समयभन्दा ढिलोसम्म पनि उनी नआएपछि स्थानीय कांग्रेस नेताहरूले खोजी सुरु गरेका थिए । सुनसरी कांग्रेसका सभापति बस्नेतका अनुसार सभासद् सरदार संलग्न टोलीका संयोजक भीम आचार्यलाई टेलिफोन सम्पर्क गर्दा 'टोली धनकुटा पुगेको तर सभासद् सरदार सुनसरीसम्म मात्रै टोलीमा रहेको' जानकारी पाइएको थियो । खोजी गर्ने क्रममा सभासद् सरदार पोखरेलसित विराटनगरतर्फ गएको तर दुवैजना नर्फकेको जानकारी पाएपछि स्थानीय कांग्रेस नेताहरूले खोजी तीव्र पारेका थिए । 'बिपीमा एकजनाको बेवारिसे शव रहेको जानकारी आएपछि हेर्न जाँदा उहाँ (सरदार) को रहेको थाहा भयो,' कांगे्रसका सुनसरी सभापति बस्नेतले भने । दुर्घटनास्थलमा सभासद् सरदारको परिचयपत्र र संविधानसभा सुझाव संकलनका लागि दिइएको झोलासमेत फेला परेको सभापति बस्नेतले बताए । उनले यस सम्बन्धमा छानबिन गरिनुपर्ने बताए ।'परिचयपत्र हुँदाहुँदै सभासद् सरदारको शव पशु र सडकको भुस्याहा कुकुरसरह अलपत्र पारिनु आपत्तिजनक कुरा हो । यसको छानबिन हुनुपर्छ,' उनले भने । प्रतिष्ठान र स्थानीय प्रहरीले भने परिचय खुल्ने केही नभएकाले उनको शव शवगृहमा राखिएको दाबी गरेका छन् ।५५ वर्षीय सरदार कांग्रेसबाट समानुपातिकमा निर्वाचित भएका थिए । सभासद् हुनुअघि उनी नेपाली कांग्रेस महासमिति सदस्य थिए ।सभासद् सरदारका दुई छोरा अध्ययनका लागि अस्ट्रेलियामा छन् । उनीहरू सोमबार काठमाडौं आइपुग्ने जानकारी आएको सभापति बस्नेतले बताए । छोराहरू आएपछि उनको अन्तिम दाहसंस्कार हुनेछ ।

No comments: