News

Mar 18, 2009

विश्व तापमानमा र मानव जीवनमा 'वेक अप' वृत्तचित्र निर्माण गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व तापमानमा भइरहेको वृद्धि र यसबाट मानव जीवनमा परेको असरको विषयलाई लिएर अभिनेता मनोज आरसी र फ्रान्सेली वातावरणविद् ग्लयुमी सौभरेनले 'वेक अप' नामक वृत्तचित्र निर्माण गर्ने भएका छन्.। उनीहरूको वृत्तचित्र निर्माण आरम्भ काठमाडौंबाट तिब्बती सीमा तातोपानीसम्मको एक सय ३० किलोमिटर साइकल यात्राबाट सुरु हुनेछ । वातावरणीय प्रदूषण कम गर्नका लागि उनीहरूले धुवाँरहित सवारीसाधनको प्रयोग गर्ने जानकारी दिँदै तातोपानीबाट चीनको ल्हासासम्म बसबाट बाह्रघन्टे यात्रा गर्ने बताए । ल्हासाबाट भने दुई दिनको रेल-यात्रामार्फत उनीहरूको बेइजिङ पुग्ने योजना छ । अनियन्त्रित जनसंख्या वृद्धि, द्रूतदर विकास तथा प्राकृतिक सम्पदामाथिको निरन्तर प्रहारले गर्दा पृथ्वीको तापक्रम बढ्दै गइरहेकाले यो भविष्यमा सम्पूर्ण मानव तथा सजीव प्राणीका लागि घातक हुने कुरालाई इंगित गरी 'ग्लोबल वार्मिङ' लाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विश्वका विभिन्न स्थानमा पुगी स्थलगत अध्ययन गर्नका लागि उक्त यात्रा सुरु गर्न लागिएको मनोज बताउँछन् । उनीहरूको यो यात्रा आगामी अपि्रलको पहिलो हप्ताबाट सुरु हुनेछ । मनोजका अनुसार अपि्रल दोस्रो हप्ता उनीहरू बेइजिङबाट मस्को प्रस्थानको तयारी गर्नेछन् । सात दिनसम्मको निरन्तर नौ हजार किलोमिटरको यात्रापछि उनीहरू मस्को पुग्नेछन् । अपि्रल अन्तिम हप्ता सार्वर्जनिक सवारीसाधन तथा साइकलमार्फत उनीहरू जर्मन पुग्नेछन् । मे १० देखि १४ सम्म क्यानाडाको मन्टि्रयलमा 'ग्लोबल वार्मिङ', विश्व वातावरणमा देखिएका समस्याहरू तथा हालको अवस्थाका बारेमा आयोजना हुने विश्वव्यापी वातावरण कार्यक्रम 'पाँचै विश्व वातावरणीय शिक्षा कंग्रेस' कार्यक्रममा सहभागी हुनेछन् । उनीहरूले यात्रासँगै वृत्तचित्र 'वेक अप' को विषयवस्तु पनि छायांकन गर्ने बताए । आफूहरूले निर्माण गर्न लागेको यो वृत्तचित्रले वातावरण प्रदूषणसम्बन्धी विद्यमान अवस्था र भावी रणनीति निर्माण गर्ने कार्यमा भरपुर योगदान गर्ने विश्वास उनीहरूको रहेको छ । विश्व-यात्राको अनुभव तथा अनुसन्धानबाट पूर्ण हुने उनीहरूको वृत्तचित्रको अवधि ४५ मिनेटको हुने बताइन्छ । स्कुल, कलेज, विश्वविद्यालय तथा दुर्गम बस्तीमा समेत 'वेक अप' प्रदर्शन गरी वातावरण स्वच्छ राख्नका लागि आमनागरिकमा जनचेतना जगाउने ध्यये रहेको मनोजले बताए । आफूहरूको यात्रामा वातावरण प्रदूषित गर्ने पोलिथिनका सामग्री प्रयोग नगर्ने र मान्छेमा पनि प्रयोग नगर्न चेतना जगाउने उनी बताउँछन् । यो यात्राको परिकल्पनाकार तथा फोटोग्राफर ग्लयुमी सौभरेन रहेका छन् । 'वेक अप' को निर्देशक मनोज स्वयं रहेको सो वृत्तचित्र मनोज र ग्लयुमीको संयुक्त लगानीमा बन्दै छ ।

No comments: