News

Mar 17, 2009

रुक्मांगद असन्तुष्टि आठ ब्रिगेडियरको म्याद नथपिएकोमा


लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ

प्रधानसेनापति रुक्मांगद कटवालले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई शनिबार भेटेर सेनाका आठ ब्रिगेडियर जनरलको म्याद नथपिएकोमा असन्तुष्टि पोखेका छन् । म्याद नथप्ने सरकारी निर्णयले जंगी प्रशासनमा 'समस्या उत्पन्न हुन सक्ने' जिकिरसमेत भेटमा उनले गरेका छन् । नेपाली सेनाले डेढ महिनाअघि पठाएको म्याद थपको सिफारिस रक्षा मन्त्रालयले कार्यान्वयन नगरेपछि आठजना सहायकरथीले सोमबारदेखि अवकाश पाएका थिए । अवकाश पाउनेमध्ये अधिकांश प्रधानसेनापतिका निकट मानिन्छन् । सेनाका सहायकरथी पवनबहादुर पाण्डे, प्रदीपविक्रम राणा, नरेन्द्र रावल, राजुप्रताप केसी, कुमार बुढाथोकी, शिव पौडेल, नरेश विष्ट र नरबहादुर कँडेलको म्याद आइतबारबाट सकिएको थियो । सैनिक ऐनअनुसार सहायकरथीहरूको म्याद पहिलो चरणमा चार वर्ष र दोस्रो चरणमा तीन वर्ष थप्न सकिने व्यवस्था छ । तर, रक्षा मन्त्रालयले सैनिक जंगी अड्डाको सिफारिस कार्यान्वयन गर्नैपर्ने प्रावधान भने सैनिक ऐनमा छैन । जंगी अड्डाको सिफारिस यसअघि भने कार्यान्वयन हुँदै आएको थियो । सैनिक प्रवक्ता सहायकरथी रमिन्द्र क्षेत्रीले प्रधानसेनापति कटवालले सोमबार राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा बादलसँग भेट गरेको पुष्टि गरे । क्षेत्रीले सोमबार भएका भेटलाई 'नियमित' भने । स्रोतका अनुसार प्रधानसेनापति कटवालले सुरुमा राष्ट्रपति डा. यादवलाई भेटेर म्याद थप नगर्ने सरकारी निर्णयले जंगी प्रशासनमा समस्या उत्पन्न हुन सक्ने बताएका थिए । सेनाका सर्वोच्च कमान्डर रहेका राष्ट्रपतिले भने सेनाको म्याद थप्ने विषय आफ्नो क्षेत्राधिकारमा नपरेको भन्दै प्रधानमन्त्री र रक्षामन्त्रीलाई भेटेर कुरा राख्न सल्लाह दिएको स्रोतको भनाइ छ । प्रधानमन्त्री र रक्षामन्त्रीसँग पनि कटवालले म्याद नथप्दा समस्या उत्पन्न हुने भन्दै थप्नुपर्ने कारणका बारेमा अथ्र्याएका थिए । तर, प्रधानमन्त्री र रक्षामन्त्री दुवैले म्याद थप्ने वा नथप्ने निर्णय सेनाले नभएर सरकारले गर्ने कटवाललाई बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री र रक्षामन्त्रीले सरकारी निर्णयलाई आत्मसात् गरेर काम गर्न कटवाललाई निर्देशन दिएका थिए । नेपाली सेनामा ५८ जना सहायकरथी रहेकोमा एकैपटक आठजनाको म्याद नथपिएपछि अब ५० जना बाँकी छन् । रक्षा मन्त्रालयको आदेशविपरीत सेनाले पछिल्लोपटक दुई हजार आठ सय सैनिक भर्ती गरेपछि सेना-मन्त्रालयबीच सम्बन्ध चिसिएको थियो । यसैबीच, सेनाका पूर्वरथी चित्रबहादुर गुरुङले जर्नेलहरूको पदावधि थप्न गरेको आग्रहलाई रक्षामन्त्री बादलले अस्वीकार गरेका छन् । म्याद थप्न आग्रह गर्दै पूर्वरथी गुरुङले सोमबार बिहान मन्त्री बादललाई भेटेका थिए ।

No comments: