News

Mar 17, 2009

निजामती सेवा ऐनविपरीत ७७ अधिकृतको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिक्षा मन्त्रालयले निजामती सेवा ऐनविपरीत ७७ अधिकृतको सरुवा गरेको पाइएको छ । नेपाल शिक्षा सेवाअन्तर्गतका ती अधिकृत ऐनविपरीत सुगमबाट सुगममा नै खटाइएका छन् । निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ अनुसार सुगममा काम गरेका कर्मचारीलाई निश्चित समयपछि दुर्गममा र दुर्गममा काम गरेका कर्मचारीलाई सुगममा सरुवा गर्नुपर्ने प्रावधान छ । तर, शिक्षा मन्त्रालयले कर्मचारीको सरुवा गर्दा सुगमबाट सुगममा नै र दुर्गममा काम गरिरहेकालाई दुर्गममा नै सरुवा गरी ऐनको ठाडो उल्लंघन गरेको हो । मन्त्रालय स्रोतका अनुसार शैक्षिक जनशक्ति विकास केन्द्र सानो ठिमीका शाखा-अधिकृतहरू श्यामसिंह धामी, मदननाथ नेपाल र हरि रानाभाटलाई पाठ्यक्रम विकास केन्द्रमा सरुवा गरिएको छ । यस्तै शाखा-अधिकृत चन्द्रकान्त भुसाल र रेणुका पाण्डे शैक्षिक जनशक्ति विकास केन्द्रमा, श्ािक्षा विभागका बद्रीनाथ तिमिल्सिना जिल्ला शिक्षा कार्यालय भक्तपुरमा, पाठ्यक्रम विकास केन्द्रका जयप्रसाद लम्साल शिक्षा विभागमा र डिल्लीश्वर प्रधानलाई शैक्षिक जनशक्ति विकास केन्द्रमा सरुवा गरिएको छ । यसैगरी सुगमबाट सुगममा नै सरुवा गरिएकाहरूमा शिक्षा मन्त्रालयका शाखाअधिकृत रामरमण हुमागाईं परीक्षा नियन्त्रण कार्यालयमा, देवकुमार बराल जिल्ला शिक्षा कार्यालय काठमाडौंमा, राधाकृष्ण घिमिरे जिल्ला शिक्षा कार्यालय भक्तपुरमा सरुवा भएका छन् । ऐनअनुसार काठमाडौं उपत्यका 'घ' वर्गको भौगोलिक क्षेत्रमा पर्छ । पहुँचका आधारमा वर्षौंदेखि काठमाडौं उपत्यकामा रहँदै आएका यी कर्मचारी यसपटक पनि उपत्यकामा नै सरुवा मिलाउन सफल भएका छन् । मन्त्रालयनिकट स्रोतले भन्यो, 'पहुँच नभएका कर्मचारीलाई भने उपत्यकाबाहिर पठाइएको छ ।'

No comments: