News

Mar 16, 2009

पूर्वका क्याम्पसमा लिम्बुवान विद्यार्थीको अवरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
समानुपातिक निर्वाचन प्रणालीको माग राख्दै लिम्बूवानसम्बद्ध दुई विद्यार्थी संगठनले पूर्वको स्ववियु चुनावमा अवरोध सिर्जना गरेका छन् । संघीय विद्यार्थी परिषद् र संघीय विद्यार्थी युनियनले बहिस्कारको घोषणा गर्दै स्ववियु चुनावविरोधी गतिविधि थालेका हुन् ।स्ववियु चुनाव बिथोल्न ती संगठनले पूर्वका विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेका छन् । बहुमतीय निर्वाचन विधिले सबै संगठनलाई समेट्न नसक्ने भएकाले क्याम्पसमा तालाबन्दी गरिएको युनियनका सचिव लोकसागर साम्बाले बताए । 'यस्तो स्ववियु चुनावको औचित्य छैन,' उनले भने, 'हाम्रा माग पूरा नभएसम्म अरुणपूर्वका नौ जिल्लामा स्ववियु चुनाव हुन दिँदैनौं ।' ती संगठनको तालाबन्दीका कारण पूर्वका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया प्रभावित हुनुका साथै पठनपाठन पनि ठप्प भएको छ । बहुमतीय प्रणालीले सबै जातजाति, वर्ग र अल्पमतमा रहेका संगठनको विचारलाई समावेशी गर्न नसक्ने भएकाले आफूहरूले त्यसको विरोध गरेको परिषद्का महासचिव सुवास लावतीले बताए । चुनाव बिथोल्ने रणनीतिस्वरूप झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङका दर्जन बढी त्रिवि आंगिक र सामुदायिक क्याम्पसमा युनियनले तालाबन्दी गरेको छ । युनियनसम्बद्ध विद्यार्थीले आइतबार मोरङको उर्लाबारी, पथरी र सुकुना क्याम्पसमा तालाबन्दी गरेका छन् । इन्द्रपुरस्थित सुकुना बहुमुखी क्याम्पसमा पुनः तालाबन्दी गरिएको छ ।युनियनका कार्यकर्ताले धरानको महेन्द्र बहुमुखी र हात्तीसार क्याम्पस, झापाको दमक, कन्काई र मेची बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरेका छन् । युनियनले पाँचथर बहुमुखी क्याम्पसको स्ववियु भवनमा तोडफोड गरेपछि चुनाव स्थगित गरिएको छ । झापाको गौरादह र गौरीगन्ज क्याम्पसमा भने पठनपाठन अवरुद्ध भएको छ । युनियनका महासचिव चेम्जोङका अनुसार इलाम बहुमुखी, पाँचथर बहुमुखी र ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तालबान्दी गरिएपछि निर्वाचन कार्यक्रम प्रभावित भएको छ । झापाको झापाको दमक बहुमुखी क्याम्पसमा युनियनको अवरोधका कारण निर्वाचनका कुनै पनि कार्य अघि बढ्न सकेको छैन । उम्मेदवार मनोनयनलगायतका काम अवरुद्ध छन् ।

No comments: