News

Mar 19, 2009

प्रश्नावली फारम अधिकांश सर्वसाधारणले रित्तै फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानका लागि सुझाव संकलन गर्न नुवाकोटमा आएको सभासद्को १६ नम्बर टोलीद्वारा वितरित प्रश्नावली फारम अधिकांश सर्वसाधारणले रित्तै फिर्ता गरेका छन् । टोलीले जिल्लाको १७ स्थानमा रायसुझाव संकलन केन्द्र तोकेर ४५ हजार एक सय प्रश्नावली फारम वितरण गरेको थियो । तर, दुई हजार तीन सय ४९ वटा उत्तर भरिएका फारम मात्र बोकेर सभासद् टोली राजधानी फर्किएको छ ।नुवाकोटको सुझाव संकलन गर्न खटिएकी सभासद् रत्ना गुरुङले लेखपढ गर्न नजान्ने महिलाहरू धेरैले प्रश्नावली लगे पनि नाम लेख्नसमेत नसकेको बताइन् । सभासद्हरूका अनुसार लिखु, छहरेबजार, रानीपौवा, चाउथे, मदानपुर, रातमाटे, बागेश्वरी र भाल्चेमा वितरण भएका करिब १५ हजार प्रश्नावलीको एउटै पनि जवाफ लेखिएर आएको छैन । वितरित एउटा फारममा ११ प्रश्नावली छन् । प्रश्नावली अत्यन्त जटिल भएकाले भर्न कठिन भएको सुझाव संकलन कार्यक्रममा सहभागी सर्वसाधारणले गुनासो गरेका थिए । फारम सबैले लगेका, तर सामान्य साक्षरका निम्ति प्रश्नावली भर्न कठिन रहेको सभासद्हरूले पनि स्विकारेका छन् । यसैगरी, सुझाव संकलनमा गाउँमा पुगेका सभासद्लाई गाउँलेले छोराछोरीलाई जागिरलगायत गाउँमा विकास माग गरेका छन् । कतिपय गाउँका किसानले आलुको मूल्य नपाएको गुनासोसमेत गरेका सभासद् जगदीश्वरनरसिंह केसीले बताए । प्रश्नावलीको उत्तरभन्दा पनि समस्या र गुनासाका पोकापन्तरा धेरै पाएको टोलीमा सहभागी अर्का सभासद् डा. प्रकाशचन्द्र लोहनीले बताए ।

No comments: