News

Mar 19, 2009

स्ववियु चुनाव अधिकांश क्याम्पसमा त्रिपक्षीय भिडन्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चुनावमा दुई दर्जन विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव बिहीबार देशभर सञ्चालन हुँदै छ । त्रिभुवन तथा महेन्द्र संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा देशभर चुनाव हुन लागेको हो । तीन वर्षपछि हुन लागेको स्ववियु चुनावमा करिब दुई दर्जन विद्यार्थी संगठनले भाग लिएका छन् । तर, देशभरका अधिकांश क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारी, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा हुँदै छ । चुनावको पूर्वसन्ध्यामा कतिपय क्याम्पसमा ठूला संगठनसम्बद्ध विद्यार्थीबीच झडप भएका खबरसमेत प्राप्त भएका छन् । तराईका केही क्याम्पसमा भने मधेसवादी दलनिकटका विद्यार्थी संगठनले अन्य संगठनलाई कडा चुनौती दिइरहेका छन् । करिब १० वर्षपछि स्ववियु चुनावमा अखिल क्रान्तिकारीले भाग लिएकाले विगतका चुनावभन्दा बढी प्रतिस्पर्धा हुने भएको हो । विगतमा अधिकांश क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । त्रिविका ६० आंगिक क्याम्पसमध्ये केहीमा चुनाव स्थगित भएको छ भने केहीमा निर्विरोध नेतृत्व चयन भइसकेको छ । विराटनगरको नर्सिङ क्याम्पसबाट मात्र निर्विरोध स्ववियुको नेतृत्व चयन भएको आधिकारिक जानकारी आएको छ । आंगिकबाहेक त्रिविबाट सम्बन्धनप्राप्त दर्जनौं सार्वजनिक क्याम्पसमा पनि स्ववियु चुनाव हुँदै छ ।

No comments: