News

Mar 14, 2009

किसानले राजमार्गमै तरकारी फ्याकेर विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ दिनदेखि जारी थरुहट बन्दले उत्पादित तरकारी बिक्री गर्न नपाएपछि किसानले राजमार्गमै फ्याकेर विरोध जनाएका छन् । बन्दका कारण लाखौं रुपैयाँबराबरको गोलभेडा बिक्री गर्न नसकेपछि सर्लाहीका किसानले शुक्रबार राजमार्गमै गोलभेडा फालेर विरोध गरेका हुन् । पूर्व पश्चिम राजमार्गको सासापुरमा सयांै किलो गोलभेडा फालेर किसानले चार घन्टा सडक अवरुद्ध पारेका थिए । स्थानीय किसान रामबहादुर लामा खेतमा टिप्ने अवस्थाको करोडौं रुपैयाँ मोलको गोलभेडा खेर गएकाले धैर्य टुटेको गुनासो पोख्छन् । किसानले तरकारी बिक्री व्यवस्था नगरे राजमार्गमा साइकलसमेत चलाउन नदिने चेतावनीसमेत दिएका छन् । 'सासापुरमा मात्र एक करोड रुपैयाँको गोलभेडा बारीमै कुहिएर नष्ट हुँदा सयांै किसानको जीविकोपार्जनमा समेत असर पर्न थालेको छ,' आक्रोशित हुँदै उनले भने, 'यस्तै स्थिति रहिरहे सबै परिवार आएर सडक घेर्छौं ।' घुर्कौलीका किसान कुलदीप महतोले सर्लाहीमा हरेक दिन एक करोड रुपैयाँको गोलभेडा कुहिएर खेर जाने गरेको बताए । उनले भने, '१० दिनमा जिल्लाभर कम्तीमा १० करोड रुपैयाँको गोलभेडा नास भयो । मुख्य सिजनमै बन्द परेकाले तरकारी किसान घरबास उठिबास हुने स्थितिमा पुगेका छौं ।' बिक्रीका लागि काठमाडौंको कालीमाटी पुर्‍याउनु गोलभेडा लामो बन्दका कारण त्यसै खेर गएको किसानको गुनासो छ । उनीहरूले बन्द भए पनि तरकारीजस्तो चाँडो नष्ट हुने कृषि उत्पादनमा अवरोध पुर्‍याउन नहुने बताए । 'बन्दकर्ताले बुझ्नुपर्छ, गोलभेडालगायत तरकारी थन्क्याउन मिल्दैन त्यसैले मौसमी कृषि उपजलाई बन्दमुक्त गरिनुपर्छ', अत्रौलीका शेखर यादवले भने । बन्द खुलाउन गएका प्रहरीलाई गुनासो गरेर फर्काएका किसानले चार घन्टापछि आफैं राजमार्ग खोलिदिएका थिए ।

No comments: