News

Mar 14, 2009

प्रहरीको गोलीबाट दुई जना आन्दोलनकारी मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङमा शुक्रबार राति प्रहरीको गोलीबाट दुई जना आन्दोलनकारी मारिएका छन् । थरुहट कार्यकर्ताहरु सिसहनिया गाविस वडानं. ७ लट्ठहवा निवासी प्रकाश चौधरी र रामप्रसाद चौधरीको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । तराई बन्दका क्रममा कर्फ्यु लगाएर यात्रुहरुलाई गन्तव्यतर्फ पुर्‍याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।उनीहरुको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा मृत्यु भएको हो । गोली लागि तीन थरुहट कार्यकर्ता घाइते भएका छन् । आन्दोलनकारीको ढुंगा प्रहारबाट आठ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोली लागेर थरुहट कार्यकर्ता सिसहनिया-७ लट्ठहवाका प्रमिन्द्र चौधरी, जन्जिरु चौधरी र प्रदिप चौधरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।भालुबाङमा अलपत्र १ हजार बढी यात्रुहरुलाई गन्तव्यतर्फ पुर्‍याउने क्रममा राती १२ बजेतिर सिसहनिया-७ पिपरीमा झडप भएको थियो । झडपका क्रममा प्रहरीको ना १ ग ६५१ नं. को ट्रकमा ढुंगामुढा भइ पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले बताएको छ ।स्थिति तनावपूर्ण भएपछि प्रशासनले गएराति ५ बजेदेखि लगाएको पूर्वपश्चिम राजमार्गको कर्फ्यु अनिश्चितकालका लागि लम्बाएको छ ।यसैबीच सरकार र थारू आन्दोलनकारीबीच शुक्रबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्षमा पुगेन ।वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री जनार्दन शर्मा र जलस्रोतमन्त्री विष्णु पौडेल तथा आन्दोलनकारीका तर्फबाट थारू कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखी र थरूहट संयुक्त संघर्ष समितिका लक्ष्मण थारूलगायत सहभागी थिए ।मध्यराति वार्ता अनिर्णीत भएपछि लक्ष्मणले अबदेखि शान्तिमन्त्री तहमा वार्तामा नबस्ने बताए । 'अब प्रधानमन्त्रीसँगमात्र वार्ता हुनेछ,' उनले भने, 'सरकार त्यसमा तयार नभए आन्दोलनको आँधीबेहरी ल्याइनेछ ।' शान्तिमन्त्री जनार्दन शर्माले एउटा माग स्थापित गरेर अर्काको अधिकार विस्थापित गर्न नसकिने बताए । 'मधेसलाई तराई भन्न सकिँदैन', उनले भने ।

No comments: