News

Apr 13, 2009

पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता समाप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक पुष्पकमल दाहाल प्रचण्डले छैटौं राष्ट्रिय खेलकुद आयोजनाको झन्डा हस्तान्तरण गरेसँगै पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता समाप्त भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको छैटौं संस्करण दुई वर्षपछि फागुनमा आयोजना गर्ने बताइएको छ । सो संस्करण आयोजनाका लागि पाँचै विकास क्षेत्रलाई दाबेदारीताका लागि आह्वानसमेत गरिएको छ । उत्कृष्ट दाबेदारले राष्ट्रिय प्रतियोगिताको छैटौं संस्करण आयोजना गर्न पाउनेछ । हरेक दुई वर्षमा राष्ट्रिय प्रतियोगिता गर्ने राष्ट्रिय खेलकुद परिषद्को योजनालाई नेपाल सरकारले सघाउने घोषणा समापन समारोहमा प्रचण्डले गरे । उनले भने, 'राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित गर्न सरकार तप्पर छ, साथै खेलाडीको वृत्ति विकासलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार निर्माणमा पनि सरकार लाग्नेछ ।' राष्ट्रिय प्रतियोगिताले शान्ति, सद्भाव र एकताका लागि सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे । समापन समारोहमा मन्तव्यका क्रममा युवा तथा खेलकुदमन्त्री गोपाल शाक्यले राष्ट्रिय प्रतियोगिताले नयाँ राष्ट्रिय एकताको ढोका खोलेको बताए । उनले पाँचौं राष्ट्रिय प्रतियोगितामा केही कमिकमजोरी भएको र यसको समीक्षा गर्ने बताए । 'नेपाली सेनामाथि परेको पीडा पनि हामीले महसुस गरेका छौं,' खेलकुदमन्त्री शाक्यले भने । जनमुक्ति सेनालाई अनियमित रूपमा सहभागी गराएपछि नेपाली सेनाका खेलाडीले खेल छाडेकोप्रति लक्षित गर्दै शाक्यले भने । उनले खेलकुदमा समान सहभागिताको मान्यताका रूपमा जनमुक्ति सेनालाई सहभागी गराएको पनि उल्लेख गरे । उद्घाटन समारोहजस्तो भव्य नभए पनि झन्डा पार्चपास, कार्ड डिस्प्ले र तीन विभागी टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) को संयुक्त ब्यान्ड डिस्प्ले समापन समारोहमा प्रस्तुत गरियो । नेपाली सेनाको मुग्दल प्रदर्शन, पाँचौं राष्ट्रिय गीत पनि समापन कार्यक्रममा प्रस्तुत गरियो । १९८० को ओलम्पिकमा सहभागी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा बक्सिङ संघका अध्यक्ष रविराज थापाले पाँचौं राष्ट्रिय खेलकुदको झन्डा अवतरण गरे । त्यससँगै ओलम्पिक ज्वाला निभाइएको थियो । त्यसपछि भएको आतीशबाजीसँगै पाँचौं राष्ट्रिय प्रतियोगिता सम्पूर्ण रूपमा समाप्त भयो ।
क्षेत्रीय प्रतियोगिताका २१ खेलको पदक-तालिका
क्षेत्र स्वर्ण रजत कास्य कूल
मध्यमाञ्चल ६८ ३५ ३५ १३८
एपिएफ ३२ १७ १५ ६४
नेपाल प्रहरी २७ ४० २४ ९१
पश्चिमाञ्चल १८ २२ ४३ ८३
पूर्वाञ्चल १४ २५ ५१ ९०
मध्यपश्चिमाञ्चल १० २१ ४८ ७९
सुदूरपश्चिमाञ्चल ९ १७ ३९ ६५
नेपाली सेना ९ ७ १२ २८
जनमुक्ति ० १ ४ ५
कूल १८७ १८५ २७१ ६४३
खुलातर्फका १३ खेलको पदक-तालिका
क्षेत्र स्वर्ण रजत कास्य कूल
मध्यमाञ्चल ५२ ४४ ५३ १४९
एपिएफ १२ ७ ६ २५
नेपाल प्रहरी ११ ० २ १३
नेपाली सेना ९ १० १० २९
पश्चिमाञ्चल ६ ९ १६ ३१
सुदूरपश्चिमाञ्चल ३ ९ ७ १९
पूर्वाञ्चल १ १० ७ १८
मध्यपश्चिमाञ्चल ० ५ ९ १४
जनमुक्ति ० ० ० ०
कूल ९४ ९४ ११० २९८
राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले पाँचौं राष्ट्रिय प्रतियोगितामा पदक जित्ने तथा कीर्तिमान बनाउने खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । समापन समारोहमा राखेप बोर्ड बैठकको निर्णय सुनाउँदै मन्त्री शाक्यले भने, 'कीर्तिमान राख्ने खेलाडीलाई हरेक कीर्तिमानका लागि दस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नेछौं ।' राखेपको निर्णयअनुसार तीनदेखि पाँच स्वर्ण पदक जितेका खेलाडीलाई २५ हजार रुपैयाँ, ६ देखि ९ स्वर्ण पदक जितेका खेलाडीलाई ५० हजार रुपैयाँ र १० भन्दा माथि पदक जितेका खेलाडीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषदले यसअघि १ सय ९८ स्वर्ण पदक वितरण गर्ने भने पनि विभिन्न कारणले १ सय ७८ स्वर्ण पदकमात्र वितरण गरिएका छन् । आइटिएफ तेक्वान्दो महिलातर्फको ब्ल्याकबेल्ट दुई डान तथा महिला उसुको ७० केजी तौल समूहको खेल नहुँदा २० पदक फरक पर्न गएको राखेपले जनाएको छ । यसैगरी, तेक्वान्दो मिडिल वेटतर्फ स्वर्णबाहेक अन्य खेलाडी डिस्क्वालिफाइड हुँदा र माथिका खेल नहुँदा रजत पदक पनि १ सय ८५ मात्र वितरण गरियो । यसअघि, १ सय ८९ पदक बाँडिने बताइएको थियो । जुडो, उसु, कुस्ती र तेक्वान्दोका विभिन्न तौल-समूहको खेल नहुँदा कास्य पदक पनि २ सय ७२ मात्र वितरण गरियो ।

No comments: