News

Apr 11, 2009

माओवादी ३ कांग्रेस, एमाले र मधेसी १,१ स्थानमा विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न जिल्लाका ६ क्षेत्रमा भएको संविधानसभा उपनिर्वाचनमा एकीकृत माओवादी तीन स्थानमा विजयी भएको छ । बाँकी तीन क्षेत्रमा कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमले एकरएक स्थान पाएका छन् । गतवर्षको निर्वाचनमा हारेका तीन जना यसपटक विजयी भएका छन् । माओवादी कञ्चनपुर ४, कास्की १ र रोल्पा २ मा
विजयी भएको छ भने कांग्रेसले मोरङ ७, एमालेले धनुषा ५ रफोरमले मोरङ ५ मा जितेका हुन् । कांग्रेसले यसअघि जितेका धनुषा ५ र कञ्चनपुर ४ दुवै क्षेत्र गुमाएको छ । माओवादीबाट कञ्चनपुर ४ मा हरिश ठकुल्ला, कास्की १ बाट कृष्णबहादुर गुरुङ र रोल्पा २ मा सन्तोष बुढामगर विजयी बनेका हुन् । मोरङ ७ मा कांग्रेस नेता शेखर
कोइराला, धनुषा ५ मा एमालेका रघुवीर महासेठ र मोरङ ५ मा फोरमका जयराम यादव विजयी भएका हुन् । उपनिर्वाचनमारोल्पामा ४१, मोरङ ५ मा ५५ तथा ७ मा ५०, कञ्चनपुरमा ४५, धनुषामा ६० र कास्कीमा ४८ प्रतिशत मतदान भए ।फोरमका मोरङ अध्यक्ष यादव १३ हजार ८ सय ११ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवकुमार मण्डलले ९ हजार १ सय १ मत प्राप्त गरे । यो क्षेत्रमा गत निर्वाचनमा फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव २७ हजार ५ सय ८ मत ल्याएर विजयी बनेका थिए । माओवादीको मोरङ इन्चार्ज मण्डल गत निर्वाचनमा पनि क्षेत्र नम्बर ४ बाट फोरमकै उम्मेदवारसँग पराजित भएका थिए । यसैगरी कांग्रेसका उम्मेदवार जगन्नाथ सिंहले ५ हजार ५ सय ४४ मत पाएका छन् । एमालेका जीवन घिमिरे ३ हजार ५ सय ८६, तमलोपाका उमेश गिरीको २ हजार ८ सय १ मत आएको छ । कुल ६७ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ९ सय १३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी मोरङ ७ मा विजयी बनेका कांग्रेसका कोइरालाले १२ हजार ७१ मत ल्याए । निकटम प्रतिद्वन्द्वी फोरमका चुमनारायण तवदारले ११ हजार ३ सय ७९ मत पाए । माओवादीका विजयकुमार विश्वासले ७ हजार ३ सय १० र एमालेका विनोदप्रसाद ढकालले ६ हजार ३५ मत पाए । कुल ७१ हजार ९ सय ९३ मतदाता रहेको यस क्षेत्रबाट ४१ हजार १ सय २१ मत खसेको थियो । गत निर्वाचनमा यही क्षेत्रबाट कोइराला फोरमका विजयकुमार गच्छदारसंग पराजित भएका थिए । गच्छदारले १८ हजार ४ सय १६ मत पाएका थिए भने कोइरालाले एक वर्षअघि १३ हजार २ सय ६१ मत ल्याएका थिए । धनुषा ५ मा एमालेका महासेठ तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवलाई १ हजार ४२ मतले पछि पार्दै १३ हजार २ सय ३१ मतसहित विजयी भए । गतवर्ष धनुषा ४ बाट उम्मेदवारी दिएका महासेठ फोरमका सञ्जय साहबाट पराजित भएका थिए । त्यस्तै कञ्चनपुर ४ मा कांग्रेसका नेता शेरबहादुर देउवासँग एक हजार २९ मतले पराजित माओवादीका ठकुल्ला यसपटक भने विजयी बने । उनले कांग्रेसकै यज्ञराज जोशीलाई ७ सय ८८ मतले पछि पारी १० हजार ७ सय ८२ मत ल्याए । कास्की १ मा माओवादीका गुरुङले १२ हजार २ सय ५७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकबहादुर गुरुङको १२ हजार २ सय २५ मत आयो । यसअघि देवप्रसाद गुरुङले २ हजार ७ सय मतको अन्तर पारेको क्षेत्रमा अहिले ३२ मतले माओवादी विजयी भएको छ । २०३६ सालमा जिल्ला पञ्चायत सदस्य भएका गुरुङ गत निर्वाचनका बेला माओवादीमा प्रवेश गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गरेको रोल्पामा माओवादीकै सन्तोष बुढा मगरले १९ हजार ९३३ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घर्तीमगरले जम्मा ६ हजार ३ सय २१ मतमा चित्त बुझाउनु पर्‍यो ।

No comments: