News

Apr 14, 2009

नेपाली सेनाले माओवादीको हस्तक्षेप प्रतिवाद गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको सार्वभौमसत्ता र राष्ट्रियतामा नै गम्भीर संकट पर्दै गएको र नेपाली सेनामाथि भइरहेको अनावश्यक हस्तक्षेपको प्रतिवाद गर्दै अगाडि बढ्नुपर्ने निष्कर्ष राजधानीमा सम्पन्न नेपाली सेनाको पृतनापति सम्मेलनले निकालेको छ। सम्मेलनले नेपाली सेनाको भर्ना प्रक्रियादेखि आठ जना सहायक रथीको म्याद थप गर्ने विषयमा समेत सरकारको नतृत्वमा रहेको एकीकृत नेकपा (माओवादी) ले हस्तक्षेप गर्ने नीति लिएकाले त्यस्ता क्रियाकलापको डटेर सामना गर्नुपर्ने निष्कर्ष निकालेको सम्मेलनमा सहभागी एक सैनिक अधिकारीले जानकारी दिए।सम्मेलनले विभिन्न शिविरमा रहेका माओवादी लडाकूको समायोजन गर्दा शान्ति सम्झौताअनुरूप अन्मिनले प्रमाणित गरेका सम्भावित लडाकूलाई सुरक्षा निकायमा समायोजनका लागि उम्मेदवार बन्न सक्ने तर उनीहरूले स्थापित मापदण्ड पूरा गर्नुपर्ने कुरामा जोड दिएको सहभागी एक अधिकारीले नेपाल समाचारपत्रलाई बताए।सरकार र राजनीतिक दलबीच २०६५ असार २ गते भएको सातबुँदे सहमतिमा उल्लेख भएअनुसार शिविरमा रहेका माओवादी लडाकूलाई वैकल्पिक व्यवस्था र आर्थिक प्याकेज लागू गरेर अगाडि बढे शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्न सक्ने ठहर गरेको ती अधिकारीले बताए।सम्मेलनले अन्तरिम संविधान २०६३ र सैनिक ऐन २०६३ को जिम्मेवारीअनुरूप अगाडि बढ्दै मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै सरकारले दिने संविधान र कानुनसम्मत आदेशबाहेक अन्य आदेशको प्रतिरोध गर्नसक्ने परिपाटीको विकास गर्नुपर्ने निष्कर्षमेत निकालेको छ।सम्मेलनले माओवादी लडाकूको समायोजन गर्न बनेको प्राविधिक समितिमा नेपाली सेनाको समेत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएको छ। सम्मेलनको समापनका अवसरमा बोल्दै प्रधानसेनापति रुक्मांगद कटवालले नेपाली सेनाका अगाडि गम्भीर चुनौती आएकाले ती चुनौतीको सामना गर्दै अगाडि बढ्न पृतनापतिहरूलाई निर्देशन दिनुभएको बताइएको छ।उहाँले शान्ति प्रक्रियालाई सबै नेपाली जनताले आफनो हकअधिकारको निश्चिन्त एवम् निर्भयपूर्ण ढंगबाट उपयोग गर्न पाउनेसम्मको वातावरण सिर्जना गरी निष्कर्षमा पुर्याउन सरकारलाई सहयोग गर्न सेना तत्पर रहेको जानकारी गराउनुभएको बताइएको छ।

No comments: