News

Apr 15, 2009

उत्तर कोरियाले आणविक कार्यक्रम वार्ताबाट बाहिरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्योङयाङ/ उत्तर कोरियाले आणविक कार्यक्रम अन्त्य गर्नेसम्बन्धको अन्तर्राष्ट्रिय वार्ताबाट बाहिरिने भएको छ । उसले रोकिराखेको आणविक भट्टी पनि पुनः सञ्चालन गर्ने बताएको छ । करिब एक साताअगाडि मात्र उत्तर कोरियाले लामो दूरीको आणविक परीक्षण गरेको थियो । यस परीक्षणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले कडा आलोचना गरेको थियो । तर, उत्तर कोरियाले परीक्षण शान्तिपूर्ण प्रयोजनका लागि भएको बताएको छ । चीन र रुसले उत्तर कोरियालाई वार्तामा फर्कन आग्रह गरेका छन् । चीनले सबै पक्षलाई शान्त र संयम भएर अघि बढ्न आग्रह गरेको छ । वार्ताबाट बाहिरिने उत्तर कोरियाको निर्णयबारेमा रुसले दुःख व्यक्त गरेको छ । जापानले उत्तर कोरियालाई वार्तामा फर्कन आग्रह गरेको छ । जापानले आणविक परीक्ष्ाण गरेकै कारण उत्तर कोरियाविरुद्धको नाकाबन्दी एक वर्ष लम्बाएको छ । उत्तर कोरियालाई आणविक भट्टी बन्द गर्न मनाउन दक्षिण कोरिया, चीन, जापान, रुस, संयुक्तराज्य अमेरिका र स्वयं उत्तर कोरिया सम्मिलित वार्ता टोलीले पाँच वर्षअगाडि वार्ता सुरु गरेको थियो । राम्रोको लागि आफू वार्ताबाट बाहिरिएको उत्तर कोरियाले दाबी गरेको छ । संयुक्त राष्ट्रसंघको कारबाही 'असहनीय अपमान' भएको उत्तर कोरियाले बताएको छ ।

No comments: