News

Apr 13, 2009

गायक रामकृष्ण ढकाल अधिकारका लागि लड्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अधिवक्ता सुनील उप्रेतीसँग भर्खरै भेटेर फर्किएका गायक रामकृष्ण ढकाल मंगलबारको कार्यक्रम सेड्युल फोनबाटै मिलाउँदै थिए । फोनमा कुरा गर्दै भने, 'एघार बजेलाई मिलाउनुस्, अनामनगरमै भेटौँला ।' गायक ढकालको हतारो सांगीतिक कार्यक्रममा लागि थिएन । गायक-गायिकाको अधिकारका लागि लड्न सुरु गरेका ढकालले प्रारम्भमै भने 'रोयल्टीलाई व्यवस्थित बनाउन जुट्दै छौँ, त्यसैको चटारो छ अचेल ।' रोयल्टीसम्बन्धी पुरानो ऐनले गीतमाथि रोयल्टीको हक रचनाकार र संगीतकारलाई मात्रै दिएको छ । त्यसकारण गायक-गायिका आफ्नो अधिकारका लागि जुर्मुराएको जानकारी दिए ढकालले । रोयल्टीलाई व्यवस्थित बनाउनकै लागि गायन समाजसमेत गठन भइसकेको छ । समाजका संयोजकसमेत बनेका गायक ढकाल यसलाई अवसरका रूपमा सदुपयोग गर्न लागिपरेका छन् । भन्छन्, 'सिस्टम बनाउने पालो हाम्रो काँधमा आएको छ, त्यसकारण पनि धेरै खट्नुपरेको छ । समाजकै लागि खटिरहेका ढकालले आशाको कुरा गरे, 'हाम्रो संस्थामा धेरै योङ साथी छौँ, त्यसकारण पनि हाम्रो काम स्पिडमा अघि बढ्छ भन्ने लागेको छ ।' समय र प्रविधिले एल्बम उत्पादन महँगो बनाउँदै लगेको छ भने बिक्री ह्वात्तै घटेको छ । ढकाल हाकाहाकी भन्छन्, 'अब पनि रोयल्टी संकलनलाई व्यवस्थित बनाइएन भने धेरै गायक-गायिकालाई चुलो बाल्ने समस्याले सताउन सक्छ ।' यस कार्यमा पूरै गायक-गायिकाको समर्थन रहेकाले यो काम टुंगोमा पुग्ने कुरा गरे उनले । कुनै साथीलाई मोबाइलमा फोन गर्दा आफ्नै गीत बजेको धेरै पटक सुनेका गायकले रिङटोन डाउनलोड गरेबापत श्रोताले पैसा तिरेको पनि थाहा पाएका छन् । तर, त्यो पैसा कहाँ जम्मा हुन्छ र कसले खर्च गर्छ थाहा छैन, थाहा पाए पनि रकम हात पार्ने वैधानिक बाटो भेटिएको छैन । गायक-गायिकाका नाममा खर्च हुने रकम उनीहरूले नै पाउनुपर्ने माग गर्नका लागि पनि समाज गठन गर्नुपरेको सुनाए ढकालले । 'हाम्रो स्वरका लागि तिरिएको पैसा हामीले पाउनुपर्छ भन्दा अन्याय नहोला,' उनले भने । नेपालमा रोयल्टी संकलनका लागि आवाज उठाउने श्रेय म्युजिक नेपालका संस्थापक सन्तोष शर्मालाई दिन चाहन्छन् गायक ढकाल । त्यसो त रोयल्टी संकलन समाजका अध्यक्ष यादव खरेलले पनि धेरै उपाय सिकाएका छन् । गीतकार एवं निर्देशक खरेलकै सल्लाहमा समाज गठन गरेका ढकाललाई लाग्छ, 'यसलाई टुंगोमा पुर्‍याउन उनीहरूको सहयोग जारी रहनेछ ।' एल्बममा स्वर दिँदै हिँड्ने गायक ढकाललाई समयले नेता बनाएको गायक-गायिकाका अधिकारका लागि संस्था-प्रमुख हुँदा कत्तिको अप्ठेरो हुँदो रहेछ । ढकाल भन्छन्, 'अहिलेसम्म त काम छोड्नुपरेको छैन, व्यस्तता यही गतिमै बढ्यो भने रेकर्डिङ छाडेर मिटिङमा जाने दिन आउला जस्तो छ ।' आफ्नो हक-अधिकारका लागि समाज गठन गरेको धारणा राख्ने ढकालले यस कामका लागि रेकर्डिङ छाड्नुपरे पनि तयार रहेको बताए । तर, यस काममा चुनौती र अवसर बराबर देखेका रहेछन् । भन्छन्, 'नेता बन्न सजलो छैन जस्तो लाग्न थालेको छ ।'

No comments: