News

Apr 10, 2009

पासपोर्टमै 'रोजगारीमा इराक जान मनाही' लेखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुरक्षा दृष्टिले अत्यन्त खतरापूर्ण रहेको मध्यपूर्वी मुलुक इराक जान प्रतिबन्ध लगाए पनि नेपाली कामदार त्यसतर्फ गइरहेकाले परराष्ट्र मन्त्रालयले जारी गर्ने पासपोर्टमै 'रोजगारीमा इराक जान मनाही' लेख्ने भएको छ ।चार वर्षअघि १२ जना नेपालीको इराकी भूमिमा नृशंस हत्या भएपछि नेपाल सरकारले इराकलाई असुरक्षित रोजगारी गन्तव्यका रूपमा तोकेको थियो । तैपनि गैरकानुनी उपाय तथा मार्गबाट नेपाली कामदार इराक जाने क्रम जारी रहेको र खतराको स्थिति यथावत रहेकाले सरकारले पासपोर्टमै प्रतिबन्धको व्यवस्था तय गर्न लागेको हो ।परराष्ट्र मन्त्रालयका अनुसार 'इराकमा काम गर्नका लागि भ्रमणमा जान अमान्यु (नट भ्यालिड टु ट्राभल टु इराक फर वर्क) लेखिएको पासपोर्ट वैशाखबाट जारी हुन लागेको हो । 'फिलिपिन्सले पनि आफ्ना नागरिकको सुरक्षामा यही उपाय अपनाइएको पाइयो,' परराष्ट्र प्रवक्ता सुरेश प्रधानले भने, 'उसले भने रोजगारीमा इराक जानेका लागि भिन्नै पासपोर्ट जारी गरेको छ ।' जनसाधारण नेपालीले बोक्ने हरियो पासपोर्टमा लेखिने यो 'सावधानीसूचकु का आधारमा कामदारहरू सचेत बन्नसक्ने अपेक्षा मन्त्रालयले गरेको छ । 'वैशाखदेखि जारी हुने १० लाखप्रति पासपोर्टमा यो जानकारी लेखिनेछ,' शिष्टाचार महापाल अरुणप्रसाद धितालले भने ।इराकको बगदाद नजिकै अमेरिकी क्याम्पमा कार्यरत सुनसरीका कुमारजंग कार्कीका अनुसार अहिले पनि कुवेत, जोर्डन र संयुक्त अरब इमिरेट्सको दुबई नाका हुँदै म्यानपावर एजेन्टहरूको भर परेर दिनहुँ इराक आउने नेपालीको संख्यामा कमी आएको छैन । 'इराकको पहाडी क्षेत्र सुलेमानियामा घरेलु कामदारका रूपमा नेपाली युवती पनि काममा गइरहेका छन्,' उनले फोनमा भने । कार्कीको अनुमानमा सयभन्दा बढी अमेरिकी क्याम्प र अन्यत्र गरेर ३५ हजारभन्दा बढी नेपाली युवा कार्यरत छन् भने युवतीको संख्या १५ सय बढी छ ।परराष्ट्रले गरेको कूटनीतिक बाँडफाँडमा मध्यपूर्वको इराक मामिला दक्षिण एसियाको पाकिस्तानस्थित नेपाली नियोगले हेर्दै आएको छ । तर सीमावर्ती मुलुक र भौगोलिक कारणले पनि इराक मामिला खाडीका संयुक्त अरब, साउदी अरेबिया र कतारले हेर्दै आएका छन् ।

No comments: