News

Apr 13, 2009

ह्वाइट हाउसमा कुकुर भित्राउँदा विश्वभरि चर्चा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ठूलो मान्छेका हरेक कुरा, हरेक गतिविधि सर्वसाधारणलाई रुचिको विषय हुन्छ । सर्वशक्तिमान् अमेरिकाका राष्ट्रपतिको त झन् कुरै बेग्लै । उनले लगाउने पोसाक, चढ्ने कारदेखि लिएर सबै कुरामा अमेरिकी जनता अत्यन्त उत्सुक हुन्छन् । त्यसो त ओबामा तथा उनको परिवारका एक-एक कुरा जान्न पूरै विश्व उत्सुक रहन्छ । अहिले ह्वाइट हाउसमा मंगलबार भित्रिन लागेको कुकुर चर्चाको शिखरमा छ । बाराक ओबामाले चुनावका क्रममा गरेका राजनीतिक आश्वासनहरू पूरा गर्लान्/नगर्लान्, तर चुनावी अभियानका क्रममा आफ्ना दुई छोरीलाई गरेको वाचा भने उनले निश्चित रूपमा पूरा गर्ने भएका छन् ।ह्वाइट हाउसमा मंगलबार कुकुर आउँदै छ । चुनावी अभियानका क्रममा आफूले जितेमा ह्वाइट हाउसमा कुकुर ल्याउने वाचा ओबामाले छोरीहरूसँग गरेका थिए । ह्वाइट हाउसमा आउने ६ महिने यो भाग्यमानी कुकुर 'पोर्चुगिज वाटर' प्रजातिको हो । टेक्सासमा हुर्किएको यस झ्यापुल्ले कुकुरलाई यसका पूर्वमालिकले फिर्ता गरेका थिए । यसलाई पहिले चार्ली नामले बोलाइन्थ्यो । ओबामाको परिवारले यसलाई पुनः नामकरण गर्नेछ । गत नोभेम्बरमा आफ्ना दुई छोरीका लागि कुकुर किन्ने घोषणा गरेदेखि पूरै अमेरिका ओबामाले कस्तो छाउरो किन्लान् भन्ने विषयमा उत्सुक देखिएको छ । जेठी छोरी मालियालाई रौँसम्बन्धी एलर्जी भएकाले ओबामाले रौँ नर्झने पोर्चुगिज वाटर जातको कुकुर छानेका हुन् । फेब्रुअरीमा पिपुल म्यागेजिनसँगको अन्तर्वार्तामा प्रथम महिला मिसेल ओबामाले उनलाई पोर्चुगिज प्रजातिका कुकुर मन पर्ने र इस्टरको बिदापछि ह्वाइट हाउसमा एउटा कुकुर भित्रिने खुलासा गरेकी थिइन् । उनले आफ्नो परिवारमा कुकुरको के नाम राख्ने भन्ने सम्बन्धमा छलफल भएको र 'मुज र फ्यांक' नाम उनका दुई छोरीलाई मन नपरेको पनि बताएकी थिइन् ।अमेरिकी समाजमा पेट (पाल्तु जनावर) राख्ने चलन निकै लोकपि्रय छ । ह्वाइट हाउस भित्रिन लागेको यस कुकुरलाई कुनै डिग्निटरी (उच्च पदस्थ) लाई भन्दा कम्ती स्वागत गरिनेछैन ।

No comments: