News

Apr 13, 2009

माओवादी र एमालेबीच नौ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवलमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्यापछि एकीकृत माओवादी र नेकपा एमालेबीच चर्किएको विवाद समाधानका लागि आइतबार दुई दलबीच नौ बुँदे सहमति भएको छ ।सहमति पत्रमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।
दाहाललाई हस्ताक्षर गराउन नारायणकाजी श्रेष्ठ लगायतका माओवादी नेता दशरथ रंगशाला पुगेका थिए । पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमा भाग लिइरहेका दाहालले सहमतिपत्रमा त्यही हस्ताक्षर गरेका थिए ।थैवको हत्या आरोपित माओवादीका सुजित विकलाई पक्राउ गरि कारबाही अघि बढाउन दुबै दलले सरकारलाई सहयोग गर्ने सहमतिमा उल्लेख छ । माओवादीले विकलाई प्रहरीमा बुझाउन नसक्नुमा कमजोरी भएको स्वीकार गरेको छ । त्यसैगरी थैवलाई सहिद घोषणा गर्न तथा उनका बालबच्चाको लालनपालन र शिक्षाको लागि सरकारलाई आग्रह गर्न दुई दल सहमत भएका छन् ।
सरकारले गर्ने महत्वपूर्ण निर्णयका बारेमा दुई दलीय उच्चस्तरीय संयन्त्रमा सहमति कायम गर्ने तथा राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्रिय सहमति कायम गर्ने उदेश्यलाई केन्द्रमा राखेर सरकारमा रहेका पार्टीहरु र प्रमुख प्रतिपक्षी दल लगायतका अन्य दलसँग नियमित छलफल गर्ने पनि दुई दलबीच सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।एमालेले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमति गरेको छ । त्यस्तै सुर्खेतमा हत्या गरिएका राजबहादुर मल्लको परिवारलाई आर्थिक सहायता प्रदान गर्न सरकारलाई अनुरोध गर्ने र देशभर घटेका विभिन्न घटनाको छानबीन गर्ने पनि सहमति भएको छ । दुई दलबीच देखापर्ने असमझदारी अन्त्य गरि तल्लो स्तरसम्म सुमधुर सम्बन्ध स्थापना गर्न ठोस उपाय अपनाउने बारेमा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।चैत्र १३ गते बुटवलमा एमाले कार्यकर्ता थैवको हत्या भएपछि दुई दलबीच चर्किएको विवाद अन्त्य गर्न शनिबार दुई दलले तीन-तीन सदस्य रहेको कार्यदल बनाएका थिए । कार्यदलले बिहानैदेखि विभिन्न चरणमा गरेको छलफलपछि साँझ सहमति भएको हो ।एमालेले बुटवल घटनाको बिरोध गर्दै व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बहिष्कार गर्दै आएको छ । दुई दलको सहमतिपछि सोमबारको लागि बोलाइएको व्यवस्थापिका बैठक सुचारु हुने अपेक्षा गरिएको छ ।

No comments: