News

Apr 13, 2009

भि. सी.द्धय गुरुङ र पुनद्धारा गोर्खा स्मारकको शिलान्यास

लिम्वूवान डट व्लगस्पोट डटकम.केन्ट युके /विश्वासदीप तिगेला
गत ११ अप्रिलका दिन वेलायतको फक्स्टोनमा एक भब्य समारोहका वीच गोर्खा स्मारकको भि. सी. तुलबहादुर पुन र भि. सी. लछुमन गुरुङले संयुक्त रुपबाट शिलान्यास गर्नुभयो।गोर्खालीको झण्डै २ सय बर्ष लामो इतिहासलाई अझ सयौ बर्ष जिवन्त राख्नको लागि गोर्खा स्मारक (Gurkha Memorial Statue) वेलायतको पूर्वीय शहर फक्स्टोनमा निर्माण कार्यको थालनी भएको हो। नेपाली मुलका पहिलो वेलायती काउन्सिलर धन गुरुङको नेतृत्वमा यो शुभ कार्यको थालनी भएको हो। जमिनको सतहबाट ६ फिट अग्लो स्तम्भ उठाई त्यस स्तम्भ माथि ६ फिट नै अग्लो तामाको मूर्ति बनाउने योजनाको शिलान्यास सम्पन्न भएको छ।पहिलो र दोस्रो विश्वयुद्ध लगायत पछिल्लो दशकमा कोसभो र अफगानिस्तानमा वीरगति प्राप्त गरेका गोर्खालीहरुको सम्झना र सम्मान स्वरुप उक्त स्मारक निर्माण गर्न लागिएको हो। हंकिन्स कम्युनिटी हलमा सम्पन्न शिलान्यास कार्यक्रममा वीर गोर्खाजहरुको चिरआत्माले शान्ति पाओस भन्ने कामना गर्दै बृटिस लिजनको नेतृत्वमा दुई मिनेट मौन धारण गरि कार्यक्रमको शुरुवात गरिएको थियो। कार्यक्रममा वेलायती सांसद तथा कन्जरभेटिभ पार्टीका बरिष्ठ नेता माइकल हवार्डले मूर्ति निर्माणको योजनाले आफू उत्साहि भएको र यस सह्रानिय कामको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुहुदै वेलायतमा रहेका नेपाली कम्युनिटीहरुलाई धन्यवाद दिनुभयो। त्यस्तैगरि वेलायतमा गोर्खालीहरुको हकहितको लागि अग्रमोर्चामा सघर्षरत लिवरल डेमोक्रेटिक पार्टीका केन्द्रिय प्रवक्ता पिटर क्यारोलले गोर्खालीले विगत २ सयबर्ष देखि वेलायतको पक्षमा काम गर्दै आएकोले उनीहरुलाई उच्च सम्मान दिनुपर्ने विचार ब्यक्त गर्नुभयो साथै यस गोर्खा स्मारक निर्माणको लागि आफूले ब्यक्तिगत तथा ब्रिटिस कम्युनिटीको तर्फबाट सक्दो सहयोग गर्ने दृण्ढ संकल्प ब्यक्त गर्नुभयो। लर्ड सिटी मेयर तथा टाउन मेयर र काउन्सिलरहरुले पनि राम्रो कामको थालनी भएकोले सथासम्भव सहयोग गर्ने विचार ब्यक्त गरेका थिए। त्यस्तैगरि वेलायतको लागि नेपाली कार्यबाहक राजदुत झविन्द्र अर्याल, एनआरएन वेलायतका अध्यक्ष डम्बर घले, ५२ विग्रेडका तर्फबाट मेजर हितमान गुरुङले बोल्नु भएको थियो। विभिन्न गोर्खाली रेजिमेन्टका उच्च पदस्थ गोर्खा मेजरहरु र अन्य पदाधिकारीहरुको पनि ठूलो संख्यामा उपस्थिती रहेको थियो। झण्डै ७ सयको संख्यामा नेपाली र स्थानिय ब्रिटिस नागरिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यु एण्ड अस ब्याण्डको आकर्षक प्रस्तुति रहेको थियो साथै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, तमु धि, मगर संघ लगायतको तर्फबाट विभिन्न सांस्कृतिक झाँकिहरु प्रस्तुत गरिएका थिए। फक्स्टोन, च्यारिटन, हाइथ इलाकामा रहेका विभिन्न नेपाली पसल र रेष्टुरेण्टहरुले सित्तैमा विभिन्न नेपाली परिकारहरु पस्किएका थिए। नेपाली समुदाय र अंग्रेज समुदायबाट सहयोग जुटाएरै निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए अनुसार कार्यक्रम अवधिमै विभिन्न संघसंस्था र विशिष्ट ब्यक्तिहरुबाट जम्मा ७ हजार पाउण्ड संकलन भएको थियो। ठूला सहयोग गर्ने दाताहरु एनआरएन युकेका अध्यक्ष तथा रिटायर्ड मेजर डम्बर घलेले ब्यक्तिगत तर्फबाट १ हजार पाउण्ड, वेलायतका कुसल नेपाली ब्यवसायी राजेन्द्र कंडेलले १ हजार, केन्ट स्टाफ सर्भिसले १ हजार, सिनीयर सुपरटेण्ड साउथ इष्ट एरिया कमाण्डर पुलिस अफिसर क्रिस हकवेनले ५सय, रुम्जाटार समाज युकेले ३ सय, गुरुङ सोसाइटी केन्टले २ सय, मेजर हितमान गुरुङले २ सय, प्रेम प्रसाद गैरेले १ सय, फक्स्टोन नेपाली कम्युनिटीले ३ सय पाउण्ड लगायत फाटफूट धेरैले सहयोग प्रदान गरेका थिए। लगभग ५० हजार पाउण्डको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त योजनाको लागि सबैलाई यथासक्दो सहयोग गर्न अनुरोध गरिएको छ। उक्त गोर्खाली मूर्ति फक्स्टोन टाउनको मध्य भागमा रहेको लिज पार्कमा स्थापना गरिने भएको छ। एकदमै महत्वपूर्ण र सर्वसाधारण जो कसैले हेर्नघुम्न सक्ने स्थानमा निर्माणको लागि जग्गा पाउनुनै पहिलो सफलता भएको कुरा आयोजकले बताएका छन्। मूर्तिको निर्माण जिम्मेवारी वरिष्ठ मूर्तिकार श्रीमति रेविका हंकिन्सलाई प्रदान गरिएको छ। उनी नेपाली कला संस्कृतिको अध्यायन गर्न नेपाल गएर भर्खरै मात्र फर्किएकी छन्। मूर्तिको शिलान्यास संगसंगै सहयोग संकलनको कार्यपनि अघि बढेको छ। सबैलाई http://www.gurkhamemorialfund.org.uk/ वेभसाइट हेर्न र नेपाली तथा गोर्खाजन्य संघसंस्था लगायत ब्यक्तिहरुलाई सहयोग गर्न विश्वब्यापी अपिल गरिएको छ। सहयोगि दाताहरु सबैको नाम ठेगाना र सहयोग रासि मूर्ति निर्माणको सम्पन्न सगै प्रकाशित गरिने स्मारिकामा समेटिने कुरा उल्लेख गरिएको छ। हामी गोर्खालीको लागि हामी आफैले थालिएको यस निर्माण कार्यको लागि सम्पूर्ण भूतपूर्व तथा वहाल गोर्खालीहरुलाई आफ्नै जिम्मेवारी सम्भि्कन पनि आब्हान गरिएको छ। ५ सदसिय निमार्ण समितिमा अध्यक्ष का. धन गुरुङ, सचिव का. टिम पार्टर, कोषाध्यक्ष का. लिन ब्यूमण्ट र सदस्यहरु गोपाल गिरी र विश्वासदीप तिगेला रहेका छन्।फक्स्टोन नेपाली कम्युनिटीको आयोजनामा सम्पन्न उक्त भब्य कार्यक्रमको शुरुमा क्रिश्चियन धर्मगुरु, हिन्दु धर्मगुरु र बुद्ध धर्मगुरुहरुले पालैपालो शुभकार्यको लागि प्रार्थना गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई काउन्सिलर गुरुङले स्वागत गर्नुभएको थियो। कार्यक्रमको शुरुवात र अन्तमा गोर्खाली सम्बन्धि छोटो भिडियो पनि प्रर्दशन गरिएको थियो। उक्त कार्यक्रमलाई अति रोचकपूर्वक फक्स्टोन नेपाली कम्युनिटीका अध्यक्ष गोपाल गिरी र सुश्री सरला थापामगरले संचालन गर्नुभएको थियो।

No comments: