News

Apr 10, 2009

संसद्को हिउँदे अधिवेशन चलाउन प्रयत्न जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको दुइ हप्ता बितिसक्दा पनि औपचारिक कार्यक्रममा प्रवेश गर्न नसक्दा अन्यौल बढेको छ। दलहरूबीच सहमति हुन नसकेका कारण संसद् औपचारिक कार्यक्रममा प्रवेश नगरी पटकपटक स्थगित भइसकेको छ।दलहरूबीच छलफल गरी सहमति जुटाउने उद्देश्यका साथ आज शनिबारसम्मका लागि भनी २६ गते बैठक स्थगित गरिएको भए पनि अझै सहमति हुन सकेको छैन जसले गर्दा आज पनि बैठक चल्ने टुंगो छैन। तर चलाउन वार्ता गरी हरसम्भव प्रयत्न गरिने भएको छ।सत्ताकै दोस्रो ठूलो घटक नेकपा (एमाले) ले बुटवलमा आफना कार्यकर्ता प्रचण्ड थैवको हत्या गर्ने माओवादी कार्यकर्ता सुजित विकलाई प्रहरी हिरासतमा नल्याएसम्म संसद्, मन्त्रिपरिषद् चल्न नसक्ने र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विगतका सहमति, प्रतिबद्धता कार्यान्वयनको विश्वसनीय आधार प्रधानमन्त्री स्वयम्ले दिनुपर्ने एवम् मन्त्री, प्रधानमन्त्रीले जथाभावी बोल्दै हिँड्न नपाइने भन्ने कुरा राखी संसद् बैठक बहिष्कार गर्दै आएका छन्।संसद् चलाउने उद्देश्यका साथ शुक्रबार सभामुख सुवास नेम्वाङले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभयो।सभामुख नेम्वाङले माओवादीका पोस्टबहादुर बोगटी, एमालेका भीम आचार्य, कांग्रेसका लक्ष्मण घिमिरे, फोरमका रामजनम चौधरी एवम् कानुनका जानकार सभासद् अग्नि खरेल र राधेश्याम अधिकारीलाई राखेर छलफल गर्दै लामो समयसम्म संसद् नचल्नु राम्रो होइन त्यसैले यो विषयलाई गम्भीरतापूवर्क लिनुपर्यो भनी ध्यानाकर्षा गराउनुभएको छ।संसद्मा सरकारको विजनेसले अहिले प्रवेश पाएको छैन, त्यसैले बढी गम्भीर सरकार हुनुपर्यो भनी सभामुखले ध्यानाकर्षा गराउनुभएको तर दलहरू आ-आफनो अडानमा टसको मस नभएको बताइएको छ। सभामुख नेम्वाङले आज बिहान पनि प्रमुख दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम राख्नुभएको छ।यसैबीच वर्तमान राजनीतिक जटिल परिस्थिति, संसद् अवरुद्धलगायतका विषयमा शुक्रबार राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’बीच भेटघाट एवम् छलफल भएको छ।राष्ट्रपति यादवले पनि संसद् चलाउन सरकार बढी गम्भीर हुनुपर्ने सुझाव दिनुभएको बताइएको छ। संसद् चलाउने विषयमै शुक्रबार नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा छलफल भएको छ।बुटवल हत्याकाण्डदेखि माओवादीबाट भइरहेका अन्य हिंसा र भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गराउन प्रधानमन्त्री एवम् माओवादी अध्यक्षसँग वार्ता गर्ने, हत्याका दोषीलाई पक्राउ गर्ने, प्रतिबद्धता कार्यान्वयन गर्ने विश्वासिलो आधार दिएर विगतका कमीकमजोरीप्रति प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले आत्मालोचना गरेमा संसद् सञ्चालन गर्न सकारात्मक हुने अन्यथा थप संर्घष् गर्ने निर्णय गरेको छ।

No comments: