News

Apr 11, 2009

प्रधानमन्त्रीले गल्ती भएको स्वीकार गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या आरोपी सुजित विकलाई पक्राउ गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन् । एमाले नेतृत्वसँग शनिबार सिंहदरबारमा भएको छलफलका क्रममा उनले सुजितको खोजी भइरहेको जानकारी दिए । 'ऊ अपराधी नै थियो, भाग्यो,' छलफलमा प्रचण्डको भनाइ उद्धृत गर्दै एमाले नेता राजेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने । पाण्डेका अनुसार आरोपी सुजितलाई मानवअधिकार आयोगको कार्यालयमा बुझाउने जिम्मा माओवादीले पोलिटब्युरो सदस्यहरू टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलाई दिएको प्रचण्डले जानकारी गराएका थिए । 'मानवअधिकार आयोगमै बुझाउनका लागि मैले सुजितलाई पक्राउ नगर्न गृहमन्त्री वामदेव गौतमजीलाई भनेको थिएँ, आयोगमा मानवअधिकारकर्मीलाई उपस्थित गराएर पत्रकारहरूको माझमा सार्वजनिक गर्ने योजना थियो,' प्रचण्डले छलफलमा भने, 'तर, ऊ बीचबाटै भागेछ ।' सुजित २५ चैतमा मानवअधिकार आयोगको कार्यक्रममा उपस्थित हुने जानकारी माओवादीले आयोग सदस्य डा. केबी रोकायालाई दिएका थिए । रोकायाले माओवादी निकटका मानवअधिकारकर्मी मुक्ति प्रधानलगायतलाई सोही दिन पौने चर बजे हरिहरभवनस्थित कार्यालयमा बोलाएका थिए । 'मलाई आयोगका सदस्य केबी रोकायाले बोलाउनुभएको थियो । म गएँ । तर, सम्बन्धित मान्छे आएनन्,' प्रधानले शनिबार नयाँ पत्रिकासँग भने, 'कार्यालय बन्द हुने वेलासम्म बसेर साढे पाँच बजेतिर हामी निस्क्यौं ।' यद्यपि आयोगले भने सुजितले सम्पर्क नगरेको भन्दै विज्ञप्ति जारी गरिसकेको छ । सोही घटनाको कारण खोज्दै आपसी समझदारी कायम गर्न माओवादी र एमालेले शनिबार कार्यदल गठन गरेका छन् । ६ सदस्यीय रहेको कार्यदलमा माओवादीका पोष्टबहादुर बोगटी, दीनानाथ शर्मा र नारायणकाजी श्रेष्ठ छन् भने एमालेका अशोक राई, शंकर पोखरेल र राजेन्द्र पाण्डे छन् । युथफोर्स कार्यकर्ता प्रचण्ड थैवलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्तिसहित छोराछोरीलाई निःशुल्क शिक्षा र श्रीमतीलाई रोजगारी दिनुपर्ने माग एमालेले शनिबारको बैठकमा राखेको थियो । कार्यदललाई आइतबार साँझसम्म सम्बन्ध सुधारका लागि शीर्ष नेतालाई सुझाव दिन भनिएको छ । एमाले नेता पाण्डेका अनुसार कार्यदलको बैठक आइतबार बिहान ८ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा एमालेले सुर्खेतमा मारिएका कार्यकर्ता राजबहादुर मल्ल, पर्वतमा कुटिएका विकास लम्साल र धनकुटामा कुटिएका गोपाल गुरागाईंका सम्बन्धमा पनि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्ने भएको छ ।

No comments: